झापा ।  

झापाको दमक नगरपालिका वडा नम्बर २ मा केही दिघ अघि गौहत्या गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । दमक–२ का लक्ष्मन बिष्टको दमक–१ स्थित पानी ट्याङकी गोठमा बाँधी राखेको २ महिनाको गर्भेणी समेत रहेको गाईलाई चोरी हत्या गर्ने उनीहरुलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको हो । 

पक्राउ पर्नेमा दमक–२ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविर क्याम्प नं. २ छाप्रो नम्बर ३३२  बस्ने ४४ बर्षिय प्रेमबहादुर बिष्ट छन् ।  उनी यसअघि पनि बिभिन्न मितिमा चोरी, डाका र केही सार्वजनिक अपराधमा इलाका प्रहरी कार्यालय दमकबाट मुद्दा दर्ता भई कार्वाही भएका ब्यक्त भएको प्रहरीले जनाएको छ । 

अर्का दमक–३ बेलडागी स्थित भुटानी शरणार्थी शिविर क्याम्प नं. ३ छाप्रो नम्बर ए ३–२०८ का ३८ बर्षिय खगेन्द्र दुलाल छन् । दुलाललाई पनि यसअघि  बिभिन्न मितिमा जिल्ला प्रहरी कार्यालय झापाबाट जबरजस्ति करणी मुद्धा र इलाका प्रहरी कार्यालय दमकबाट पशुपंक्षी सम्बन्धी कसुर मुद्दामा मुद्दा दर्ता भई कार्वाही भएको प्रहरीले जनाएको छ । 

 त्यसैगरी दमक –३ बेलडागी स्थित भुटानी शरणार्थी शिविर क्याम्प नं. ३ छाप्रो नम्बर ए २– १२० बस्ने ३२ बर्षिय बिधान थापा छन् । उनी पनि यसअघि बिभिन्न मितिमा इलाका प्रहरी कार्यालय दमकबाट केहि सार्वजनिक अपराधमा मुद्दा दर्ता भई  कार्वाही भएका ब्यक्ति हुन भने दमक–४ की ४५ बर्षिय गिता श्रेष्ठ छिन् ।  

उनीहरुले गाईलाई उक्त गोठदेखी अन्दाजी १०० मिटर पूर्वतर्फ रहेको खाली प्लटिङ जग्गामा लगेर टाउकोमा बन्चरो प्रहार गरि मारेर खुट्टा करङ तथा घाँटीको मासु काटी लगेर अन्य शरिरको भाग मात्र घटना स्थलमा छोडेका थिए । 

उनीहरुलाई पशुपंक्षी सम्बन्धी कसुरमा वारदात पश्चात फरार रहेका प्रतिवादीहरुको तदारुताका साथ खोजतलास गरि उक्त घटनामा संलग्न रहेका प्रमाणका आधारमा पक्राउ गरिएको हो । 

उनीहरुले घटनामा प्रयोग भएको खुकुरी थान १, बन्चरो  थान १ र मासु बोक्न प्रयोग गरेको झोला थान १ समेत कोठाबाट गत शुक्रवार कानुन बमोजिम बरामद गरेर पक्राउ गरी सो वारदात सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।