बिर्तामोड । 

प्रहरीको सरुवा प्रक्रिय भइनै रहन्छ । तर, झापाका ब्यवसायीहरु जुनसुकै प्रहरी प्रमुख सरुवा भएर आउँदा र जाँदा  किन यसरी स्वागत र बिदाई गर्छन् । यस बिषयमा केही जानकारहरु सेटिङका लागि उद्योगी ब्यवसायीहरुले चाकरी गरेको बताउँछन् । सरकारी कर्मचारी सरुवा भएर आउँदा स्वागत गर्नु र जाँदा बिदाई गर्नुले पनि प्रहरीले गर्ने कार्य र नागरिकको सुरक्षामा कमी आउने केही ब्यवसायीहरुको मत छ । तर, बिर्तामोडका संघ/संस्थाका प्रमुखहरु भने जिल्लामा सरुवा भएर आउने र जाने प्रहरी प्रशासनका प्रमुखहरुलाई किन यसरी चाकरी जस्तो बिदाई र स्वागत गरिरहेका छन् यो सोचनीय  बिषय छ । 

यसै क्रममा आज (शनिवार) सरुवा भएर गएका जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक नवराज न्यौपानेलाई सम्मानसहित विदाई गरिएको छ । झापामा रहेका तीन दर्जन भन्दा धेरै संघ संस्थाले एकै पटक प्रहरी निरीक्षक न्यौपानेलाई सम्मानसहित विदाई गरेका हुन् । बिर्तामोड उद्योग वाणिज्य संघको अगुवाईमा न्यौपानेको बिदाई गरिएको हो ।

प्रहरी निरीक्षक न्यौपानेको नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय तालिम शाखा सामाखुसी काठमाडौं सरुवा भएको हो । न्यौपानेको सरुवासँंगै जिल्ला ट्राफिक प्रहरी कार्यालय झापामा गणेश पौडेल आउने भएका छन् ।

न्यौपानेको नियमित सरुवासँगै बिर्तामोड आज (शनिवार) आयोजित कार्यक्रमकाबीच प्रहरी निरीक्षक न्यौपानेलाई विभिन्न संघ संस्थाका प्रमुख र प्रतिनिधिले सम्मान पत्र प्रदान गर्दै संयुक्त रुपमा विदाई गरेका थिए ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षमा भएको कार्यक्रममा  संघका विशिष्ठ सदस्य निर्मल भट्टराईले स्वागत गरेका थिए । कार्यक्रममा संघ संस्थाको तर्फबाट वीरता लेडी जेसीजकी पूर्व अध्यक्ष संगीता चिमरिया, राष्ट्रिय उपभोक्ता मञ्च झापा अध्यक्ष मदन गोपाल सुब्बा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रहरी निरीक्षक न्यौपानेको सम्मानपत्र बाचन रामधुनी उर्जाशील आमा समूहकी अध्यक्ष गंगा शिवाकोटी ढकालले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन संघका महासचिव कुशल खतिवडाले गरेका थिए ।