शनिश्चरे । 

धार्मिक तथा पर्यटकीय स्थल श्रीशङ्कराचार्यपीठ साधुटारमा ‘सर्वकल्याण अभिषेकात्मक अतिरुद्र महायाग’ आयोजना हुने भएको छ । झापाको अर्जुनधारा  नगरपालिका वडा नम्बर १ मा आगामी माघ १ गतेदेखि ११ गतेसम्म महायाग हुने भएको हो । 

पूर्वाञ्चलमै पहिलो पटक साधुटारमा सर्वकल्याण अभिषेकात्मक अतिरुद्र महायाग एवम् गरुड महापुराण पाठ प्रवचन हुन लागेको आयोजक संस्थाले जनाएको छ । 

आयोजक संस्था श्रीशङ्कराचार्यपीठ साधुटारले आज (शुक्रवार) पत्रकार सम्मेलनको आयोजना गरेर महायाग आयोजना तयारीका बिषयमा जानकारी दिएको हो । सवैको सुख तथा शान्तिको उदेश्यले महायागको तयारी गरिएको श्रीशङ्कराचार्यपीठ साधुटारका अध्यक्ष लक्ष्मीप्रसाद खतिवडाले जानकारी दिए । 

sadhutar

अध्यक्ष खतिवडाका अनुसार अभिषेकात्मक अतिरुद्र महायाग भनेको एक पटक रुद्री पढेर गर्नुलाई रुद्र, ११ पटक रुद्री पढेर अभिषेक गर्नुलाई रुद्री, १२१ पटक रुद्री पढेर अभिषेक गर्नुलाई लघुरुद्री, १,३३१ पटक रुद्री पढेर अभिषेक गर्नुलाई महारुद्री र १४,६४१ पटक रुद्री पढेर अभिषेक गर्नुलाई अतिरुद्री भनिन्छ । 

१५१ जना उपाध्याय ब्रह्मण पण्डीतले महायागमा वरण गर्ने अध्यक्ष खतिवडाले बताए । महायाग सम्पन्न गर्न अनुमानित २ करोड रुपैयाँ खर्च हुने र उक्त रकम सवै उदारमना सञ्जनहरुको श्रद्धा दानबाट हुने आयोजक संस्थाले जनाएको छ । 

महायागबाट रहेको यज्ञशेष गुरुकूलको दीर्घकालीन संरक्षण गर्ने उदेश्यले सञ्चालित ११ करोडको अक्षयकोष स्थापना महाअभियानमा सुरक्षितसमेत गरिने अध्यक्ष खतिवडाले बताएका छन् । महायागमा अभिषेक, पाठ, हवन बिहान ८ बजेबाट शुरु भएर १२ बजेसम्म हुनेछ भने १ बजेबाट प्रवचन हुने बताइएको छ । श्रीशङ्कराचार्यपीठमा श्री बेद बेदाङ्ग संस्कृत पाठशाला पनि सञ्चालनमा रहेको छ । 

त्यसैगरी पत्रकार सम्मेलन अघि अतिरुद्र अभिषेकात्मक महायाग’ स्थलको समेत उद्घाटन गरिएको छ । महायाग गर्ने स्थलमा पूजापाठपछि सुनको फाली भएको हलोसहित गोरुले तीन फन्का जोतेर महायाग स्थलको शुभराम्भ गरिएको थियो ।  

बि.सं. २०३३ सालमा स्थानीय केदारनाथ खतिवडाको अगुवाईमा सामाजिक सद्भाव र प्ररणाबाट आर्ष गुरुकुलिय आचारसंहिता अनुरुप सञ्चालन हुनेगरी संस्कृत पाठशालाको प्राराम्भ भएको थियो । 

पत्रकार सम्मेलनमा श्रीशङ्कराचार्यपीठका संस्थापक संरक्षक केदारनाथ खतिवडा, नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीलगायतले आ–आफ्नो भनाई राखेका थिए । पत्रकार सम्मेलनको सञ्चालन महासचिव हरिप्रसाद नेपालले गरेका थिए । श्रीशङ्कराचार्यपीठ साधुटारको ४९ औं बार्षिकोत्सव तथा संस्थाको स्वर्ण जयन्तीको पूर्वाधारका रुपमा आगामी माघ १ देखि ११ गतेसम्म महायागको तयारी गरिएको आयोजक संस्थाले जनाएको छ ।