झापा । 

बिदेशी नागरिकलाई बैधानिक हुन र अवैध रुपमा लुकिछिपी बसिरहेका बिदेशी नागरिकलाई स्वदेश फर्कन युएई सरकाले दुई महिनाको समय दिएका छन् । अबुधावीस्थित नेपाली दूतावासका अनुसार सेप्टेम्बर १ देखि अक्टोबर ३० तारिखसम्म यूएई सरकारले एम्नेष्टी आदेश जारी गरेको छ । 

नेपाली दूतावासले विगतमा वर्किङ वा भिजिट भिसामा यूएई गएर रन वे (भागेका) वा ओभर स्टे भइ जरिवाना वा अध्यागमन समस्या रहेकाहरूलाई एमनेष्टीको सेवा लिन आग्रह गरेको छ ।

नेपाली दूतावासले वैधानिकीकरण भएपछि यूएईमा भ्रमण तथा कामकाजका लागि जान कुनै समस्या नहुने स्पष्ट पारेको छ । दूतावासले एम्नेष्टी कार्यक्रमको व्यापक प्रचारप्रसार गर्न गैरआवासीय नेपाली संघ, यूएईमा रहेका नेपालीका सामाजिक संघसंस्था तथा सञ्चारकर्मीलाई आग्रह गरेको छ ।

विगतमा पनि यूएई सरकारबाट अवैधानिक विदेशीलाई लक्षित गरी एम्नेष्टीका कार्यक्रम आएपनि अवैधानिक अवस्थामा रहेका कतिपय नेपालीले अवधि सकिएपछि मात्रै उक्त अवसरका बारेमा थाहा पाउने गरेका कारण अवसरबाट बञ्चित भइ स्वदेश फर्किँदा अध्यागमनमा चर्को शुल्क बुझाउनुपर्ने अवस्था थियो ।

दूतावासका अनुसार अवैध कामदारले वैध हुने वा बिना जरिवाना आफ्नो देश फर्किन पाउने छन् । नेपाली दूतावासले यूएई अध्यागमनबाट प्रक्रिया पूरा गर्नेले निःशुल्क एकतर्फी यात्रा अनुमतिपत्र पाउने भन्दै जहाज टिकट भने आफैंले व्यवस्था गर्नुपर्ने जनाएको छ । एकतर्फी यात्रा अनुमतिपत्र पाएकाले १४ दिनभित्र यूएई छोड्नुपर्ने दूतावासले जनाएको छ ।