बिर्तामोड ।
झापाको बिर्तामोडमा सञ्चालित बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईका समर्थकले बिर्तामोड नगरपालिकाका उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौलाको राजिनामा माग गरेका छन् ।
फेसबुकको स्टार्टसका बिषयमा नगर उपप्रमुख संग्रौला र प्रसाईबिच भएको चर्काचर्कीलाई लिएर प्रसाईका समर्थकले आज (बुधवार) बिर्तामोडमा प्रदर्शन गर्दै राजिनामा माग गरेका हुन् ।
बिर्तामोड–३ स्थित नगरपालिकाको कार्यालय अगाडी राष्ट्र राष्ट्रियता नगरिक बचाउ महा अभियानका संयोजक रामचन्द्र मैनालीको नेतृत्वमा करिव ३०÷४० जनाको समुहले सामाजिक सन्जालबाट उपप्रमुखले दुर्गा प्रसाईलाई दिएको धम्कि बिरुद्ध नारा लगाउदै नगर उप–प्रमुख संग्रौलाको राजिनामा माग गरेका हुन् ।
समर्थकहरुले फेसबुके धम्की बन्द गर, सब बहान दुरुपयोग बन्द गर, बिर्तामोड उपमेयर राजिनामा दे, गणतन्त्र धोका भो, नागरिक बचाउ महा अभियान जिम्दाबादलगायतका नाराबाजी गरेका थिए ।
संग्रौलाले फेसबुकमा लेखेको विषयमा प्रसाईसँंग मंगलबार विहानै फोनमा चर्काचर्की परेको थियो । प्रसाईले आफ्नो बारेमा फेसबुकमा किन लेखेको भनेर फोन गरी संग्रौलासँग सोधेका थिए । फोनमा प्रसाईले आफूलाई ‘तँ भ्रष्टाचारी, साला डाका, नगरपालिका आउन मन छ कि छैन ?’ भनेर धम्की दिएको उपप्रमुख संग्रौलाले जानकारी दिए । प्रसाईले अरुपनि तथानाम गाली गर्दै धम्की दिएको संग्रौलाको भनाई छ ।
यता प्रसाईले ‘दुर्गे भनेर किन लेखेको दुर्गा प्रसाई भनेर लेख्दा हुने थियो भनेर सम्झाउन खोज्दा संग्रौला आफैले मुख छाडेको जानकारी दिए ।