दमक । 

झापाको दमकमा गौहत्या भएको भन्दै घटनाको सत्य तथा तथ्य खोजी गर्न प्रहरीलाई चौतर्फी दबाव बढेको छ ।दमक नगरपालिका–१ स्थित खानेपानी ट्याङ्की टोल उत्तरको प्लटिङ एरियामा मंगलबार राती गौ हत्या भएको पाइएपछि स्थानीय आक्रोसित भएका छन् । 

अज्ञात समुहले स्थानीय गंगाराम कोइरालाको गाई गोठबाट एउटा माउ गाई चोरी गरेर करिब २ सय मिटर नजिकै प्लटिङको खाली जमिनमा बन्चरो प्रहार गरेर गाई मारेको पाइएको हो ।

घटनास्थलमा प्रहरी र जनप्रतिनिधिसहित स्थानीयहरु बिहानैदेखी ठूलो संख्यामा  भेला भएका थिए । प्रारम्भिक अनुसन्धानमा हत्या गरी खुन र घाँटी, गर्धनको मासु काटेर लगेको अवस्थामा गौ फेला परेको प्रहरीले जानकारी दिएको छ । घटनाबारे अनुसन्धान भैइरहेको इलाका प्रहरी कार्यलय दमकले जनाएको छ ।

यता राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गौहत्याको बारेमा सरकारलाई ध्यानाकर्ण गराएका छन् । उनले आफ्नो फेसबुकमार्फत सरकारको ध्यानाकर्ण गराएका हुन् । 

‘यो हदको कार्य किन हुन्छ ? यस्ता कार्यहरुका लागि के र कसले प्रेरणा दिन्छ ? अर्काको गोठको ब्याउने गाई चोरेर हत्या गर्नु निन्दनीय र चरम अराजकता हो । 

यस प्रकारका कार्यहरू अविलम्ब रोकियोस् । सरकारको ध्यानाकर्षण गर्न चाहन्छु ।’ लिङ्देनको फेसबुक स्टाटर्समा भनिएको छ ।