झापा ।
निर्वाचन आयोगले आगामी असोजको पहिलो साता उपनिर्वाचनको मिति तोक्ने जनाएको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहमा रिक्त स्थानका लागि यसअघि प्रधानमन्त्री र गृहमन्त्रीसँग भएको भेटमा मंसिर तेश्रो सातातिर निर्वाचन गर्ने बिष्यामा कुराकानी भएको जानकारी दिएका हुन् ।
आयोगले निर्वाचनको तयारीका लागि स्थानीय तहमा जनप्रतिनिधि रिक्त रहेको विवरण सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग मागेको छ । यसअघि ३४ ठाउँमा रिक्त भएकोमा त्यसमा थप रिक्त रहेकोबारे जानकारीका लागि आयोगले मन्त्रालयलाई पत्राचार गरेको हो ।
स्थानीय तहको उपनिर्वाचन भएको हुनाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सबै स्थानीय तहको रिक्त रहेको आधिकारिक विवरण पठाइदिन भनेर पत्राचार गरेको निर्वाचन आयोगले जनाएको छ । जिल्लास्थित निर्वाचन कार्यालयबाट फरक नपर्ने गरी विवरण पठाउन मग गरिएको र अहिले रिक्त रहेका स्थानीय तहका पदको विवरण सङ्कलन भइरहेको बताइएको छ ।
आयोगले उपनिर्वाचनका लागि मतदाता विवरण अध्यावधिक गर्ने काम पनि सुरु गरिसकेको छ । त्यसका लागि नगरपालिकाको प्रमुख, उपप्रमुख, गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्ष पद रिक्त भएका स्थानीय तहमा १८ वर्ष उमेर पूरा भएका सबै नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगले आग्रह गरेको छ ।
आयोगका अनुसार ३४ स्थानीय तहमा उपनिर्वाचन गर्नुपर्ने हुन्छ । काठमाडौँको कीर्तिपुर नगरपालिकामा प्रमुख, मोरङको ग्रामथान गाउँपालिका र दैलेख महाबु गाउँपालिकामा अध्यक्ष पद रिक्त छ । भदौ महिनाको अन्त्यसम्म रिक्त रहेका पदहरूको एकीकृत विवरण तयार गरेर असोजको पहिलो हप्ता निर्वाचनको मिति घोषणा गर्ने तयारी भइरहेको प्रमुख आयुक्त थपलियाले बताएका छन् ।
आयोगका अनुसार ३४ स्थानीय तहमा उपनिर्वाचन हुनेछ । काठमाडौँको कीर्तिपुर नगरपालिकामा प्रमुख, मोरङको ग्रामथान गाउँपालिका र दैलेख महाबु गाउँपालिकामा अध्यक्ष पद रिक्त छ ।त्यस्तै, जाजरकोटको नलगाढ नगरपालिकामा उपप्रमुख तथा दोलखाको गौरीशंकर गाउँपालिका, बाजुरा स्वमीकार्तिक खापर गाउँपालिका र हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष पद रिक्त छ ।
यसबाहेक सात प्रदेशका २८ वटा वडामा अध्यक्ष पद रिक्त छ । स्थानीय तह निर्वाचन ऐन २०७३ को व्यवस्था अनुसार १ वर्षभन्दा बढी समयावधि बाँकी रहेको जुनसुकै रिक्त पदमा प्रतिनिधि चयनका लागि निर्वाचन गराउनुपर्ने हुन्छ । स्थानीय तहको रिक्त पदमा उपनिर्वाचन हुने भएपछि विभिन्न राजनीतिक दलले आन्तरिक तयारी थालेका छन् ।