झापा ।
राउण्ड टेबल नेपालको अध्यक्षमा प्रवेश अग्रवाल सर्वसम्मत चयन भएका छन् । २४ औं वर्षिक साधारण सभाबाट अग्रवाल अध्यक्षमा चयन भएका हुन् ।
समितिको उपाध्यक्षमा सुमित मित्तल, सचिवमा मनिष लाठ, कोषाध्यक्षमा अंकित अग्रवाल र सम्पादकमा दिपेश खेतान चयन भएका छन् । साधारण सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसँगै लेखा परिक्षकको प्रतिवेदनसमेत पारित गरी नयाँ कार्य समिति चयन गरेको हो।
कार्यक्रमको संयोजन बिर्तामोड राउण्ड टेवल २७ ले गरेको थियो। देशै भरिका ३१ वटै टेवलको उपस्थितिमा कार्यक्रमको आयोजना गरिएको थियो। छिमेकि देश भारत र श्रीलंकावाट समेत राउन्ड टेवलका प्रतिनिधिहरुको आतिथ्य रहेको थियो।
नयाँ कार्यसमितिले आगामी सन् २०२४÷०२५ को मुख्य प्राथमिकतामा शिक्षा र सामाजिक कामलाई जोड दिएको छ। एक जना टेवल सदस्यले एक निम्न आर्थिक अवस्थाको जेहेन्दार बिद्यार्थीको वार्षिक शिक्षाको जिम्मेवार लिन समेत आग्रह गरेको छ।
नयाँ कार्य समितिले राउण्ड टेबलले सुरु गरेका कार्यक्रमहरु अन्तर्गत विद्यालयको स्तरउन्नति, राउण्ड टेबल नेपाल मोडल स्कुल स्थापना, विपन्न वर्गका बालबालिकाहरुलाई प्रदान गर्दै आएको छात्रबृत्ति कार्यक्रम, १ देश १ लाख विरुवाको नारालाई समेत निरन्तरता दिने जनाएको छ।
यसका साथै आफ्ना सदस्यका लागि विभिन्न तालिम तथा गोष्ठीको आयोजना गरी सदस्यहरुको सीप विकासका साथै सदस्यबीचको सम्बन्ध थप सुदृढ गर्ने योजना रहेको बताइएको छ ।