बिर्तामोड । 

झापाको बिर्तामोड उद्योग बाणिज्य संघ अन्तरगतको महिला उद्यमी समुहले हिन्दू धर्मालम्वी महिलाहरुको महान पर्व हरितालिका तीज सम्पन्न गरेको छ । समुहले तीजको अवसर पारेर आज (मंगलबार) बिर्तामोडस्थित अतिथि सदनमा तीज बिशेष कार्यक्रम गरेको हो । 

समुहले हरितालिका तीजको अवसरमा तीज बिशेष कार्यक्रमको आयोजना गरी महिला दिदिबहिनीहरुलाई दर खुवाएर नाचगान गर्दै कार्यक्रम सम्पन्न गरेको थियो । 

समुहकी अध्यक्ष राधिका चुडाल हुमागाईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको प्रमुख आतिथ्य रहेको थियो । स्वागत समुहकी पूर्व अध्यक्ष नैनाकला भट्टराईले गरेको कार्यक्रमको सञ्चालन महासचिव लीला अनमोलले गरेकी थिइन् । 

tij

सोही कार्यक्रमकाबिच दुई जना महिलालाई सम्मान गरिएको थियो । कार्यक्रममा महिलाका हकअधिकारका क्षेत्रमा कार्य गर्दै आएकी अधिवत्ता लक्ष्मी खनाल कोइरालालाई नारी सम्मान र शर्मिला अधिकारीलाई युवा महिला प्रोत्साहन पुरस्कारबाट सम्मान गरिएको थियो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी बास्तोला, बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु नेउपानेलगायतले सम्मान गरेका थिए । 

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष प्रकाश शिवाकोटी, नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी, उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य उमेश डालमिया, मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङ, नेपाल अलैंची ब्यवसायी महासंघका केन्द्रिय अध्यक्ष निर्मल भट्टराई, सामाजिक ब्यक्तित्व पार्वता गिरी, लीला मैनाली, एबीसी नेपाल झापाकी अध्यक्ष कन्चना ढकाल सिटौलालगायतका आतिथ्य रहेको थियो । 

त्यस्तै तीज बिशेष कार्यक्रममा बिर्तामोडका बिभिन्न महिलाहरुका संघ/संगठनका प्रमुख तथा प्रतिनिधि, सामाजिक संघ/संगठनका प्रमुख तथा प्रतिनिधिलगायतको बाक्लो उपस्थिति रहेको थियो ।