हल्दीबारी।

समुदाय–प्रहरी साझेदारी अन्तर्गत नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल काठमाडौले तयार पारेको ‘स्थानीय तह–प्रहरी–विद्यालय सम्पर्क कार्यक्रम पुस्तक–२०८०’ लाई विद्यालयको पाठ्यपुस्तकमा समावेश गरी अनिवार्य रुपमा पठनपाठन गराउने उद्धेश्यका साथ हल्दीबारी गाउँपालिका झापाको आयोजनामा एक कार्यक्रमका बिच  त्रि–पक्षिय समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

गाउँपालिकाका अध्यक्ष रबिन्द्रप्रसाद लिङ्देनको  अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको प्रमुख आतिथ्य रहेको थियो।

जिल्ला प्रहरी झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसी, सशस्त्र प्रहरी उपरीक्षक कबिन्द्र राई, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय झापाका उप–अनुसन्धान निर्देशक कुल चन्द्र नेपाल, हल्दीबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र), पालिकाका ५ वटै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा–सदस्यहरु, विद्यालयका प्रधानाध्यापकहरु, गाउँपालिकाको विभिन्न शाखाका कर्मचारीहरु, सञ्चारकर्मीहरु को उपस्थिती रहेको  थियो।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत मानवहादुर वनले स्वागत गरेको कार्यक्रममा प्रहरी चौकी जलथल झापाका  प्रमुख प्रहरी सहायक निरीक्षक ओमराज पौडेलले ‘स्थानीय तह(प्रहरी(विद्यालय सम्पर्क कार्यक्रम पुस्तक(२०८०’ को आवश्यकता, औचित्यता र विषयवस्तु माथि आफ्नो प्रस्तुतीकरण मार्फत जानकारी गराएका थिए।

कार्यक्रममा नेपाल प्रहरीको तर्फबाट जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसी, हल्दीबारी गाउँपालिकाको तर्फबाट शिक्षा शाखा प्रमुख जनककुमारी राई र हल्दीबारी गाउँपालिकाको सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुको तर्फबाट जनजागृति माध्यमिक विद्यालय हल्दीबारी–१ झापाकी प्रधानाध्यापक इन्दिरादेवी कडेल (चुडाल) ले त्रि–पक्षिय समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।  उक्त हस्ताक्षर पत्रको रोहवरमा हल्दीबारी गाउँपालिकाका अध्यक्ष रबिन्द्रप्रसाद लिङ्देन, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला र पालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) ले हस्ताक्षर गरेका थिए।

 प्रहरी उपरीक्षक मिलन केसी र प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले शुभकामना मन्तव्य राखेको कार्यक्रमको सञ्चालन योजना शाखा प्रमुख राजन  न्यौपानेले गरेका थिए।