झापा ।
नेपाल पत्रकार महासंघको निर्वाचन आगामी असोज ५ गते गर्न महासंघका सवै तहलाई आग्रहसहितको पत्राचार गरिएको छ । महासंघका अध्यक्ष विपुल पोख्रेलले असोज ५ गते महासंघको सबै तहको निर्वाचन एकैसाथ सम्पन्न गर्न निर्वाचन समितिलाई पत्राचार गरेका छन् ।
महासंघ आफैंमा एउटा स्वतन्त्र र छाता संस्था हुँदाहुँदै पनि यससँग सरोकार राख्ने पक्षको आवाजलाई सुन्ने र सम्बोधन गर्ने अभ्यास र दायित्वका कारण निर्वाचनमा केही ढिलाई भएको भन्दै अध्यक्ष पोख्रेलले आइतबार निर्वाचन गर्न विज्ञप्ति जारी गरी आग्रह गरेका हुन् ।
यसअघि घोषित मितिमा निर्वाचन हुन नसक्नुका कारणहरू जे जस्ता भएपनि अध्यक्षको नाताले त्यसको नैतिक जिम्मेवारी ग्रहण गर्ने उनले उल्लेख गरेका छन् ।
उनले महासंघले यसबीचमा भोगेका सकारात्मक पक्षहरू अनुशरण गदै नकारात्मक पक्षहरूबाट शिक्षा लिँदै सच्चिनु पर्ने आवश्यकता महसुस गरेको पनि विज्ञप्तिमा उल्लेख गरेका छन् ।
नयाँ नेतृत्व चयन प्रक्रिया नियमित हुन नसक्दा आमपत्रकार र महासंघसँग प्रत्यक्ष वा अप्रत्यक्ष सरोकार राख्ने पक्षहरूमा छाएको निराशा र चिन्ता स्वाभाविक रहेको अध्यक्ष पोखरेलद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।