बिर्तामोड ।
झापाको बिर्ताबजारस्थित नयाँ सृष्टि पुनस्र्थापना केन्द्रमा एक महिलासहित तीन जनालाई निर्घात कुटपिट गरेको घटनाप्रति पिडीतका आफन्तले आपत्ति जनाएका छन् । पिडीत पक्षले आज (शुक्रवार) बिर्तामोडमा पत्रकार सम्मेलन गरी कुटपिट गर्नेलाई कारवाही गरिनु पर्ने बताएका छन् ।
पुनस्र्थापना केन्द्रमा उपचारका लागि भर्ना गरिएका आफन्तलाई लिन जाँदा बिहीवार केन्द्रका सञ्चालकसहित कर्मचारीले निर्घात कुटपिट गरेका पिडीतले बताएका हुन् ।
कुटाईबाट अर्जुनधारा–१ की सविना तामाङ, बिर्तामोड–५ का मनकुमार फेदाङ र बाबुराम योङहाङ घाइते भएका हुन् । उनीहरुको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।
घटना अनुसार सविनाको देवर मदन तामाङलाई ६ महिना अघि सो पुनस्र्थापना केन्द्रमा उपचारका लागि भर्ना गरिएको थियो । पीडित परिवारका अनुसार केन्द्रका सञ्चालक आकाश खड्कासहित कर्मचारीले उनीहरुलाई निर्घात कुटपिट गरेका थिए ।
सञ्चालक खड्कासँग हरहिसावका बारेमा प्रश्न उठाउँदा अश्लिल शब्दले गाली गलौज गर्दै एक्कासी कुटपिट गरेको पीडित पक्षका भानु राईले बताएका छन् । खड्कासहित पुनस्र्थापना केन्द्रका ८÷९ जना कामदारले कुटपिट गरेको पत्रकार सम्मेलनमा बताइएको छ ।
कुटपिटबाट घाइते भएर उपचारत रहँदा पनि इलाका प्रहरी कार्यालय बिर्तामोडले केन्द्रका सञ्चालक र कर्मचारीको बचाउ गर्न खोजेको पिडीत पक्षले पत्रकार सम्मेलनमा बताए । दुबै पक्षलाई मिलाएर लानु पर्ने भन्दा भन्दै पनि प्रहरीमा दिएको जाहेरीका बिषयमा प्रहरीले कार्यन्वयनमा ढिलासुस्ती गरेर पिडीतको आरोप छ ।
खड्काले आफन्त लिन आएको समयमा तामाङ परिवारसँग सामान्य बिवाद मात्र भएको बताउँदै आएका छन् । उनले कुटपिट गरेको बिषय अस्विकार गर्दै आएका छन् ।