बिर्तामोड ।
अखिल नेपाल ब्यूटिसियन श्रमिक संघ कोशी प्रदेशले नेपालकी पहिलो महिला रिक्सा चालक फुलमाया धिमाललाई सम्मान गरेको छ । संघले झापाको बिर्तामोडमा आज (शुक्रवार) आयोजना गरेको ‘तीज विशेष मिलन कार्यक्रम’ मा धिमाललाई नगदसहित सम्मान गरेको हो । धिमाललाई संघले देशकै पहिलो महिला रिक्सा चालक भएर देश तथा बिदेशमासमेत नेपालको गौरव बढाएको भन्दै सम्मान गरेकोे छ ।
बिभिन्न एनजीओ आइएनजिओले सम्मानसहित गरेको आर्थिक सहयोग सवै आफन्त र केही ब्यक्तिहरुले सकिदिएकोले हाल धिमाल सडकमा आएकी छिन् । उनलाई केही उत्साह होस भनेर संघले एक साहसी महिलाको रुपमा सम्मान गरेको संघले जनाएको छ ।
संघकी अध्यक्ष गीता लिम्बुको अध्यक्षतामा भएको सम्मान तथा तीज मिलन कार्यक्रममा नेकपा (माओवादी केन्द्र) की केन्द्रिय सदस्य लक्ष्मी न्यौपाने (सरु) को प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि सरु, अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रिय उपाध्यक्ष भूपाल सापकोटा, रिर्टनी नेपालका केन्द्रिय सदस्य भीम लकान्द्रीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संघकी कोशी प्रदेश इन्चार्ज शर्मिला खातीले गरेकी थिइन् ।
कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रिय उपमहासचिव सीता सापकोटा (सन्ध्या), सामाजिक ब्यक्तित्व नारायणी लिम्बु, माओवादी केन्द्र बिर्तामोड नगर अध्यक्ष मोहन सुब्वा, रिर्टनी कोशी प्रदेश अध्यक्ष गणेश कालिकोटे (सौगात)लगायत संघका पदाधिकारी तथा सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा संघका पदाधिकारी तथा सदस्यहरुले नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज अवसरमा नाचगान र दर खाएर मनाएका छन् ।