हल्दीबारी ।
झापाको हल्दीबारी गाउँपालिकाले आदिवासी समुदायको मौलिक संस्कार र संस्कृति संरक्षण गर्ने उदेश्यले आदिवासी समुदायका अगुवा तथा जानकारसँग छलफल शुरु गरेको छ । हल्दीबारी गाउँपालिकामा रहेका राजवंशी, सन्थाल र मेचे समुदायका अगुवा तथा जानकारसँग पालिकाले क्रमश छलफल शुरु गरेको हो ।
राजवंशी, सन्थाल र मेचे जातीको मौलिक संस्कार र संस्कृति संरक्षण गर्ने हल्दीबारी–२ भेलागडी पर्यटकिय क्षेत्रमा तयार गर्न लागिएको संग्रालयको विषयमा बिहीवार छलफल गरिएको थियो । राजवंशी समुदायका प्रतिनिधिहरूसँग हल्दीबारी गाउँपालिकामा बहुपक्षिय छलफल भएको छ ।
छलफलमा पालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङदेन, उपाध्यक्ष लक्ष्मी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र), योजना शाखा प्रमुख राजन न्यौपाने, संविधान सभा सदस्य पुर्णप्रसाद राजवंशी, हल्दीबारी–२ का वडाध्यक्ष शुकलाल राजवंशी, कार्यपालिका सदस्य बिजय राजवंशी। निवर्तमान जनप्रतिनिधि खकेन राजवंशीसहित राजवंशी समुदायका शिक्षक, संघसंस्थाका प्रतिनिधि, बुद्विजिवीलगायतको उपस्थितिमा छलफल भएको छ । साथै छलफलले पुरातत्त्वविक सामाग्री संकलन गर्न समितिसमेत गठन गरेको छ । राजवंशी समुदायले हल्दीबारी २ का वडाध्यक्ष शुकलाल राजवंशीको संयोजकत्वमा समिति निर्माण गरेको बताइएको छ ।
त्यसैगरी पालिकाका अन्य समुदायसँग पनि क्रमागत रूपमा छलफल गरी समिति गठन तथा काम अघि बढाइनेछ पालिकाले जनाएको छ । पालिकाले सवै समुदायसँग छलफलपछि संग्रालय ब्यवस्थापन समिति निर्माण गरेर सवै समुदायका पहिचान झल्कने पुराना कुराहरुलाई समेटेर संग्रालय निर्माण गर्ने पालिकाको नीति तथा कार्यक्रममै भएकाले उक्त योजना अघि वढाइएको पालिकाले जनाएको छ ।