झापा । 

वैदेशिक रोजगारीमा क्रोएसियासहित अन्य मुलुकमा पठाउने बहानामा ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । युरोपेली मुलुक क्रोएसिया र यूएईलगायतका देशमा आकर्षक तलब सुविधासहितको रोजगारीमा लैजाने भन्दै पीडितहरूलाई लामो समयसम्म झुक्याएर सम्पर्कविहीन भएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । 


पक्राउ पर्नेहरुमा सुनसरीको मिक्लाजुङ गाउँपालिका–७ घर भइ हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ माकलबारी बस्ने ४२ वर्षीय शशी लामा, कास्की माछापुच्छ्रे–६ घर भइ हाल काठमाडौं महानगरपालका–२६ रानीबारी बस्ने ३२ वर्षीया रोशनी विश्वकर्मा र सिन्धुली कमलामाई नगरपालिका–७ घर भइ हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–६ बस्ने २५ वर्षीय गणेशबहादुर श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।


काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक काजीकुमार आचार्यले उनीहरूले वैदेशिक रोजगारीमा पठाउने आश्वासन दिएर ६ लाख ७७ हजार लिएको देखिएको प्रहरी जनाएको छ ।


पक्राउ परेका मध्ये अभियुक्त लामाले ४ लाख ६५ हजार, विश्वकर्माले १ लाख दुई हजार र श्रेष्ठले २ लाख १० हजार लिएको प्रहरीले जनाएको छ । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि बिहीबार वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ ।