बिर्तामोड । 

 म पनि सक्छु भन्ने मुख्य अभिप्रेरणाका साथ स्थापना भएको गोर्खा फाउन्डेशन नेपालको अध्यक्षमा विर्तामोडका वीरबहादुर दर्नाल (वीरु) पुनः चयन भएका छन् ।  

आज (सोमबार) सम्पन्न एक भेलाले दर्नाललाई पुनः अध्यक्षमा चयन गरेको महासचिव सुवास तिखत्रीले जानकारी दिए ।  स्थानिय युवाहरुको ब्यक्तित्व र नेतृत्व बिकास गर्दै सामाजिक कार्यमा अग्रसर गराउँने उदेश्यले २०७५ सालमा फाउन्डेशनको स्थापना गरिएको अध्यक्ष दर्नालले बताए ।  

नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा महेन्द्र दास, महासचिव सुवास तिखत्री, उपाध्यक्ष रोशन नेपाली, सचिव कृष्ण अनमोल सुन्दास र कोषाध्यक्ष नविना राई चयन भएको  जनाइएको छ ।  ९ सदस्यीय कार्य समितिको सदस्यहरुमा रेगन प्रसाईं, काजी ठटाल र टोनी मुर्मु रहेका छन् ।  

फाउण्डेशनले गत चैत्र २१ गते समर्पण अभियानका प्रणेता राजा पृथ्वीनारायण शाहका आर्थिक सल्लाहकार भनिएका विसे नगर्चीको नाममा राष्ट्रमा विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउने पाँच  जना ब्यक्तित्वलाई रु. ५१ हजार नगदसहित सम्मान गरेको थियो ।  यो राष्ट्रिय सम्मान हरेक वर्ष निरन्तर गरिने वरिष्ठ उपाध्यक्ष दासले बताए ।  यो वर्ष पनि उक्त कार्यक्रम काठमाडौमा गरिने जनाइएको छ । 

फाउन्डेशनले दुई जना विध्यार्थीलाई कानून विषयमा कक्षा १२ मा अध्ययनको ब्यवस्था गरेको र आउँदा वर्षहरुमा पनि यो कार्यलाई निरन्तरता दिइने बताइएको छ । दुईबर्ष अघि   विसे नगर्ची बारे स्थलगत अध्ययन गर्न फाउन्डेशनको संयोजन र अध्यक्ष दर्नालको नेतृत्वमा झापाका १६ जना पत्रकारको टोली गोरखा जिल्ला पुगेर नगर्ची बारे अनुसन्धान तथा परामर्श गरेको उपाधक्ष रोशन नेपालीले बताएका छन् ।