बुधवारे ।
सामाजिक ब्यक्तित्व भूपाल बस्नेतले जन्मोत्सवमा गरिने फजुल खर्च कटाएर दुई जना बिद्यार्थीलाई आर्थिक सहयोग गरेको छन् । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाका सचिव तथा गंगामाया नरबहादुर बस्नेत क्यान्सर पिडीत सहयोग संस्थाका अध्यक्षसमेत रहेका बस्नेतले जन्मदिनको अवसर पारेर दुई जना बिद्यार्थीलाई एक बर्षको पढाई खर्चवापत २० हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।
बस्नेतले आज (सोमवार) कर्णाली साकोस बुधवारे सेवा केन्द्रमा कलेक्टरका रुपमा कार्यरत एकल महिला तुलसादेबी काफ्ले पोखरेलका छोरा र छोरीलाई अध्ययन खर्च वापत जनही १० हजार रुपैयाँ प्रदान गरेर आफ्नो जन्मदिन मनाएका छन् ।
बुद्धशान्ति गाउँपालिका वडा नम्बर २ स्थित गोपालडाँडामा रहेको श्री सरस्वती बेसिक स्कुलमा कक्षा ६ मा अध्ययनरत तुलसाकी छोरी १२ बर्षिया बितुशा र सोही बिद्यालयको कक्षा ३ मा अध्ययनरत छोरा ८ बर्षिय बिप्शन पोखरेललाई जनही १०÷१० हजार रुपैयाँ पढाई खर्च वापत बस्नेतले दिएका हुन् ।
कर्णाली साकोसमा कर्मचारीका रुपमा कार्यरत तुलसाका श्रीमान झपेन्द्र पोखरेलको कोरोना भाइरसका कारण २०७८ भदौं ३ गते मृत्यु भएको थियो । श्रीमानको मृत्युपछि तुलसाले माइती घर बुद्धशान्ति–२ मा बसेर दुःख गरेर छोराछोरीको पालनपोषण र अध्ययन खर्च जुटाउँदै आएकी छिन् ।
श्रीमानको मृत्युपछि एकल बनेकी तथा आर्थिक अवस्था एकदमै नाजुक भएकी तुलसाका छोराछोरीलाई राहत हुन्छ भन्ने उदेश्यले जन्मदिनको अवसर पारेर थोरै भएपनि पढाई खर्च प्रदान गरेको बस्नेतले बताए । सवैले जन्मदिनमा गरिने फजुल खर्च कटाएर दुःखी तथा गरिवलाई सहयोग गर्न पनि उनले आग्रह गरेका छन् । तुलसाले बस्नेतललाई जन्मदिनको शुभकामना दिदै छोराछोरीको पढाई खर्च उपलब्ध गराएको भन्दै धन्यवाद ज्ञापन गरिन् ।
कार्यक्रममा संस्थाकी सञ्चालक समिति सदस्य देबीमाया तामाङ, बुधवारे सेवा केन्द्र ब्यवस्थापन उपसमितिका संयोजक दुर्गा पाठक, कर्मचारीलगायतले बस्नेतले जन्मदिनको अवसरमा सामाजिक कार्य गरेको प्रशंसा गर्दै जन्मदिनको शुभकामनासमेत दिएका थिए ।