झापा ।
झापाको छुट्टाछुट्टै स्थानबाट लागू औषधसहित दुई जना पक्राउ परेका छन् । झापाको गौरादह र मेचीनगर नगरपालिकाबाट प्रतिबन्धित औषधी र ब्राउन सुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कमल गाँउपालिका वडा नम्बर ७ स्थित एकता चोकका १९ बर्षिय मिलन बस्याल प्रतिबन्धित औषधिसहित र मेचीनगर–१० का अन्दाजी २० बर्षिय सुमित सुनुवारलाई आइतवार साँझ प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय गौरादह र प्रहरी चौकी महारानीझोडाबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा बस्यालको घर कोठामा तलासी लिदा प्रतिबन्धित औषधी एन्टिकफ ट्यावलेट २२५ पत्ता (२२५० पिस), ट्रामाडोल ७० पत्ता (७०० पिस) फेला परेकोले रितपुर्वक बरामद गरि नियन्त्रणमा लिएको हो । उनलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान भइरहेको छ ।
मेचीनगर–१० स्थित धुलाबारी चौकमा लागूऔषध कारोबार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलावारी र लागू औषध नियन्त्रण व्यूरो काँकभिट्टा खटिएको प्रहरी टोली सुनुवारलाई शंका लागेर चेकचाँच गरेको थियो । चेकजाँचको क्रममा उनको साथबाट ब्राउन सुगरप्लाष्टीक बाहेक ३ ग्राम १८० मिलिग्राम फेला परेको थियो ।
नियन्त्रण गरिएका उनको इलाका प्रहरी कार्यालय धुलावारीमा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।