झापा ।
वैदेशिक रोजगार विभागले अनुगमनपछि मात्रै गरिने एक सय भन्दा कम कामदार पठाउने म्यानपावर कम्पनी नविकरण गर्ने जनाएको छ । अघिल्लो आर्थिक वर्ष सय जनाभन्दा कम कामदार पठाउने म्यानपावरको इजाजतपत्र नवीकरणका लागि आह्वान गर्दै बिभागले अघिल्लो वर्ष सयभन्दा कम कामदार पठाएका म्यानपावरलाई आर्थिक वर्ष २०८१/०८२ का लागि विलम्ब दस्तुरसहित नवीकरणका लागि निवेदन दिन भनेको छ ।
विभागले आइतबार एक सूचना जारी गरी नेपाल राजपत्रको खण्ड ७४ अतिरिक्तांक २३ मा साउन ३१ गते सूचना प्रकाशित भएको जनाएको छ । मन्त्रिपरिषद्को गत साउन ३१ गतेको बैठकले आर्थिक वर्ष २०७९/०८० र २०८०/०८१ मा वार्षिक रुपमा न्यूनतम् सय जना कामदार पठाउन नसकेका इजाजतपत्र प्राप्त संस्थाको आर्थिक वर्ष २०८१/०८२ का लागि नवीकरण गर्न आएमा अन्तिम पटकका लागि नवीकरण गरिदिने गरी बाधा अड्काउ फुकाउ आदेश जारी गरेको थियो ।
विभागले आइतबार जारी गरेको सूचनामा यसअघि नै नवीकरणका लागि निवेदन दिएका म्यानपावर कम्पनीले नवीकरणका लागि पुनः निवेदन दिनु नपर्ने जनाएको छ । वैदेशिक रोजगार ऐनमा एक आर्थिक वर्षका लागि नियमित नवीकरण दस्तुर १० हजार र असोज मसान्तसम्म प्रत्येक महिनाको थप १० हजार विलम्ब दस्तुर लाग्ने व्यवस्था छ ।
यता नेपाल वैदेशिक रोजगार व्यवसायी संघले २ सय ५९ म्यानपावर कम्पनीले सय जना कामदार वैदेशिक रोजगारमा पठाउन नसकेको जनाएको छ । विभागले यसअघि जनशक्ति कम भएको भन्दै अनुगमनको काम थाती राख्दै आएको थियो । अनुगमनपछि म्यानपावर कम्पनीको नवीकरण गर्ने विभागको पछिल्लो भनाइले आश्चर्यमा पारेको कतिपय व्यवसायीहरुले टिप्पणी गरेका छन् ।