झापा । 

झापाको कचनकवल गाउँपालिका वडा नम्बर १ घेराबारीस्थित नेपाल–भारतको अन्तरास्ट्रिय सिमा छुट्याउन निर्माण गर्न लागिएको बिषयमा भारत र नेपालका सिमा सुरक्षाबिच भएको बिवाद समाधान भएको छ । 

१२४ नम्बरको सिमाको उतरतर्फ नेपालको उग्रनारायण बस्ती र दक्षिणतर्फ भारतको जोरबारी बस्तीसम्म करिब ३०० मिटर पश्चिमतर्फ भारतीय सिमा सुरक्षा बल (एसएसबी) को निर्देशनमा शनिवार बाटो खनिएको थियो । 

भारतीय जोरबारीका स्थानीयहरुले नेपाल–भारतको सिमा छुट्टयाउनका लागि दुबै देशले छोडेको क्षेत्र तथा दशगजा क्षेत्रमै भारततर्फ दशगजाकै माटो  कोदालो तथा फरुवाले खनि करिब १४÷१५ फुटको बाटो निर्माण गर्न खोज्दा कचनकवल–१ घेराबारीमा रहेको प्रस्ताबित गुल्ममा प्रमुख नायब उपरीक्षक महेश बिष्टको टोलीले दशगजा क्षेत्र भित्र बाटो निर्माण नगर्न भन्दै रोक लगाएको थियो । 

आज (आइतबार) ७ः०० बजेको समयमा पुनः भारतीय एसएसबिको निर्देशनमा करिब  ३०÷३५ जनाको संख्यामा जोरबारीका स्थानीय वासिहरुले सो बाटो पुनः निर्माण खोजेका थिए । 

तर, ८ः३० बजेको समयमा नेपाल तर्फका (उग्रनारायण बस्तीका) स्थानीयवासी, कचनकवल–१ घेराबारीमा रहेको शस्त्र प्रहरी गुल्मका प्रमुख महेश बिष्टको टोली, घेराबारी प्रहरी चौकीबाट गएका नेपाल प्रहरीलगायत करिब १०० जनाको संख्यामा र भारत तर्फका बाटो निर्माण गर्ने स्थानीयबासी, एसएसबिलगायत करिब १०० जनाको संख्यामा बाटो खनेको विषयलाई लिएर दुबै पक्ष बीच बिवाद भएको थियो । 

बिवाद समाधानका लागि खनेको बाटो पहिलाकै आकारमा ल्याउनका लागि बाटो पुरिने भन्ने दुबै पक्षबिच मौखिक सहमति अनुसार नेपालका शस्त्र प्रहरीले बाटो पुरिने काम अन्दाजि १०० मिटर गरिसकेको र त्यसैबेला भारती एसएसबि कदुभिट्टाका थ्री स्टार जेआर भाटले धम्की पूर्ण शब्दमा घेराबारीका गुल्म प्रमुख महेश बिष्टलाई बाटो निर्माणमा कुनै गलत नभएको, दशगजा क्षेत्र भनेको दशगज हो र दश गज छोडेर भारतले बाटो निर्माण गर्न मिल्ने बताएका थिए । 

भाटको धम्कीपूर्ण जवाफपछि नेपालको सुरक्षाकर्मी शसस्त्र प्रहरी घेराबारी गुल्मका प्रमुखले प्रतिकार गर्दै दशगजा क्षेत्र भित्र कुनै बाटो बनाउन नदिने त्यसका लागि नेपाल  सरकारबाट निर्देशन आउनु पर्ने बताएका थिए । 

तर, पछि दुबै पक्षबिच मौखिक सहमति भएर बाटोलाई हाल स्थगित गर्ने र खनेको बाटो भारतीय स्थानीयवासिहरुले नै पुरिदिने र थप बाटो नबनाउने भएपछि तत्कालका लागि समाधान भएको स्रोतले बताएको छ ।