बिर्तामोड । 

बिरामी भएर उपचारका लागि अस्पताल लगिएका फरार थुनुवा आज (शनिवार) बिहान ११ बजे पक्राउ परेका छन् । चार दिनअघि हातकडी फुस्काई फरार भएका थुनुवा बिशाल राईलाई इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी टोलीले पक्राउ गरेको हो । उनी इप्रका बिर्तामोडका थुनुवा थिए ।

अर्जुनधारा ११ स्थित नयाँ बसपार्कमा रहेको घिसिङ मोटरसाइकल ग्यारेज छेउको चिया पसलको भित्रपट्टी चुरोट खाएर बसिरहेको अबस्थामा उनलाई बिहान ११ बजेतिर पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडमा डीएसपी प्रकाश बिष्टले बताए । 

गत मंगलवार दिउँसो उपचारका लागि बिर्तासिटी अस्पताल लगिएका थुनुवा २५ वर्षीय बिशाल राई हतकडी फुस्काई फरार भएका थिए । दिउँसो ४ बजे पेट दुख्ने बिरामी भई अस्पतालमा बेड भर्ना भई उपचार भइरहेका दमक–३ भुटानी शरणार्थी सेक्टर जी थ्री भई हाल बिर्तामोड–१ मा डेरा गरी बस्ने राई हातकडी फुस्काई फरार भएका थिए ।

उनी फरारसँगै खोजी कार्य तीब्र पारिएको थियो । उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयको टोली चार दिनदेखि खटिएको थियो । उनी लागूऔषधसहित पक्राउ परेका थिए । फरार थुनुवा राईलाई इप्रका बिर्तामोडमा राखिएको छ ।