झापा । 

वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ५९ हजार ५ सय ७५ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । नेपाली कामदारको प्रमुख श्रम गन्तव्य मलेसियामा नयाँ कामदार जाने क्रम बन्द रहेको अवस्थामा पनि अघिल्लो वर्षको साउनको तुलनामा यो वर्षको साउनमा बढी नेपाली वैदेशिक रोजगारीमा गएका हुन् । गत आर्थिक वर्षको साउनमा ५५ हजार ५ सय ७५ जना वैदेशिक रोजगारीमा गएका थिए ।

यस वर्ष साउनमा २५ हजार ५ सयले संस्थागत अर्थात म्यानपावर कम्पनीबाट श्रम स्वीकृति लिएका छन् । अघिल्लो वर्ष साउनमा २९ हजार २ सय २९ जनाले म्यानपावर कम्पनीबाट श्रम स्वीकृति लिएका थिए । साउनमा व्यक्तिगत १० हजार ७ सय ५३ र ईपीएसमार्फत ६ सय ६८ जना गएका छन् ।

विभागको तथ्यांकअनुसार साउनमा सबैभन्दा धेरै यूएई गएका छन् । साउनमामात्रै १७ हजार ५ सय ४१ जना गएको यूएईमा म्यानपावर कम्पनीमार्फत १० हजार ३ सय १६ जना गएका छन् ।

वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपालीको संख्या भने घटेको छ । अघिल्लो बर्ष साउनमा ७ हजार ८ सय ५४ जना संस्थागतरुपमा मलेसिया गएकोमा यस वर्ष संस्थागतरुपमा ५ जना, व्यक्तिगतरुपमा ११ र पुनः गरी १ हजार ३ सय ४४ जना मलेसिया गएका छन् । मलेसियाले गत मार्चदेखि विदेशी कामदार रोकेको छ ।  साउनमा ९३ मुलुकमा नेपाली कामदार गएकोमा म्यानपावर कम्पनीले १२ मुलुकमा मात्रै कामदार पठाएका छन् ।