झापा । 

वैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई सीप र आधारभूत भाषागत ज्ञान सिकाएर मात्र पठाउन् पर्नेमा जोड दिइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय आप्रवासन संस्था (आईओएम) बीच सीप र आधारभूत भाषागत ज्ञान सिकाएर मात्र वैदेशिक रोजगारीमा नेपाली कामदार पठाउने विषयमा छलफल भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग अन्तर्राष्ट्रिय आप्रवासन संस्थाका निर्देशक जोसेफ सामुयल अपिआहले बिहीबार गरेको शिष्टाचार भेटमा  छलफल भएको हो । 

भेटका अवसरमा अन्तर्राष्ट्रिय आप्रवासन संस्था र श्रम मन्त्रालयबीच भएका र हुनसक्ने समन्वय र सहकार्यका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । सीप र आधारभूत भाषागत ज्ञान सिकाएर मात्र वैदेशिक रोजगारीमा नेपाली कामदार पठाउने विषयमा मन्त्रालयले आन्तरिक तयारी गरिरहेको जनाइएको छ । 

भेटमा आईओएमका निर्देशक जोसेफले नेपाल सरकारको आप्रवासन नीति कार्यान्वयनमा अन्तर्राष्ट्रिय आप्रवासन संस्था सधैं सकरात्मक रहेको र सहयोगका लागि तत्पर रहेको बताएका छन् ।

त्यसैगरी मन्त्री भण्डारीसँग जापानी सहयोगी संस्था कोईका आवासीय निर्देशक किम हायुन क्यूले शिष्टाचार भेट गरेका छन् । भेटमा नेपाली कामदार लैजान जापानी परियोजना ‘खामी’को सहयोगका लागि निजी बैंकहरुसँग सहकार्य गर्ने तथा अन्तर्राष्ट्रिय स्तरको सीप भएका नेपाली कामदार पठाउनका लागि सहकार्य गर्ने सम्बन्धमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

छलफलमा मन्त्री भण्डारीले सीपयुक्त जनशक्ति पठाउने विषयमा छलफल भएको र त्यसमा मन्त्रालय तत्पर रहेको जानकारी दिएको मन्त्रालयका प्रवक्ता सहसचिव गोविन्दप्रसाद रिजालले उल्लेख गरेका छन् ।