• चन्द्र बस्नेत 

सुरुङ्गा । 

ढोल, झ्याम्टा एवं ढ्याङ्ग्रोको तालमा धार्मिक तथा पर्यटकीय स्थल झापाको  सताक्षीधाममा ढोलेतालेसहित धामीझाँक्रीहरुको र्याली सहितको भेला सम्पन्न भएको छ । साउन लागेसँगै गुप्तवास बसेका धामीझाँक्री श्रावण शुक्ल पूर्णिमाको दिन  सोमबार धार्मिक स्थल झापाको झिलझिलेमा रहेको प्रवेशद्वारबाट सताक्षीधाममा गएर नुहाउनाका साथै पूजाआजा गरेर बिद्धे (ज्ञान) प्राप्तिका लागि प्रार्थना समेत गरिएको तन्त्र धामीझाँक्री संघका केन्द्रिय सदस्य तथा कोशी प्रदेश संयोजक रोशन भेट्वालले जानकारी दिए ।

यो महिनाभरी गुप्तबास बसेका धामीझाँक्रीका गुरु र देवीदेवता श्रावण शुक्ल पूर्णिमाको दिन धार्मिकस्थलमा गएर नुहाइधुवाइ गरेपछि आफ्ना गुरु तथा देवीदेवता चल्ने मान्यता छ । सोही मान्यताअनुसार धामीझाँक्री  जिल्लाको  शिवसताक्षी नगरपालिकामा रहेको धार्मिक तथा पर्यटकीयस्थल सताक्षीधाम परिसरसम्म पुगेर र्याली तथा भेलाको आयोजना गरिएको थियोे ।

महिना दिनसम्म गुप्तवास बसेका धामीझाँक्री सोमबार  बिहानदेखि जिल्लाका धार्मिक तथा पर्यटकीयस्थलमा भेला भएका हुन् । धार्मिक तथा पर्यटकीय स्थलमा लाग्ने धामीझाँक्री मेलामा रमिता हेर्ने सर्वसाधारण तथा पूजाआजा गर्ने भक्तजनको समेत बाक्लो उपस्थिति देखिन्थ्यो । 

जिल्लास्थित धार्मिक तथा पर्यटकीयस्थलमा शुक्ल पूर्णिमाको अवसर पारेर पूजाआजासहित नुहाउँदा रोग व्याधी हट्नाका साथै मनोकाकांश पूरा हुने जनविश्वास छ । 

धामीझाँक्रीहरुद्वारा ढोल, ढ्याङग्रो र झ्याम्टा बजाउँदै दिनभर धामी नाच् स्थल सताक्षीधाममा  बूढापाका, युवायुवती तथा केटाकेटी सबैको उल्लेख्य उपस्थिति रहेको थियोे । परापूर्वकालदेखि नै यस ठाउँको पानीले नुहाइधुवाइ गरेमा रोग कष्ट निको हुने जनविश्वास रहि आएको स्थानीय सीताराम खरेलले बताए ।

कार्यक्रममा झापा, मोरङ, सुनसरी, इलाम, तेह्रथुम जिल्लाका माता, झाँक्रेनी ८४ जना तथा धामी एवम् झाँक्री ५३ गरि १ सय ३७ जना धामीझाँक्री हरुको सहभागीता रहेकोे प्रदेश संयोजक भेट्वालले जानकारी दिए ।