झापा ।

 हावाहुरीले झापामा क्षति पुर्याएको छ । गएराति पानीसँगै आएको हावाहुरीले झापाका बिभिन्न स्थानमा क्षति पुर्याएको हो । हावाहुरीले झापाका बिभिन्न् स्थानमा घरको छाना उडाएर, बिजुलीको पोल ढालेर क्षति गरेको छ । 

चारआलीको पाउपाथीभरा मन्दिरस्थित पूर्वपश्चिम राजमार्गमा सखुवाको रुख ढल्दा एउटा कारमा क्षति पुगेको छ । चारआलीबाट बिर्तामोडतर्फ जाँदै गरेको बागमती प्रदेश ०१ –०२३च ५०९३ नं को कारमा क्षति पुगेको हो । पाँच जना सवार कारमा कसैलाई केही पनि नभएको चारआली प्रहरी चौकीले जनाएको छ । 

रुख ढलेर अवरुद्ध भएको राजमार्गलाई जेसीबी लगाएर राति नै सुचारु गरिएको चारआली प्रहरी चौकीका  इन्चार्ज सई टंक कोइरालाले बताए । 

त्यस्तै हावाहुरीले बिजुलीको पोल ढाल्दा विद्युत् अवरुद्ध भएको छ । चारआली क्षेत्रमा ५–६ वटा बिजुलीको पोलमा क्षति पुगेको नेपाल विद्युत प्राधिकरणका कर्मचारी युवराज न्यौपानेले बताए । उनले चारआली क्षेत्रमा राति नै विद्युत् सुचारु गरिएको बताउँदै धुलावारी क्षेत्रमा अवरुद्ध नै रहेको जानकारी दिए । मेचीनगरको धाईजन, धुलाबारी , काँकडभिट्टामा पनि बिद्युत अबरुद्ध रहेको जनाइएको छ ।

हावाहुरीले आफूहरुको क्षेत्रमा निकै क्षति पुर्याएको मेचीनगर १३ का वडाध्यक्ष कृष्णराज सिग्देलले बताए । उनले बिजुलीको पोल र तारसँगै वडाबासीहरुको घरहरुमा पनि क्षति पुगेको जानकारी दिए । घरहरुमा पुगेको क्षतिको विवरण संकलन भइरहेको उनले बताए ।

हावाहुरीले विभिन्न ठाउँहरुमा रुख ढालेर क्षति गरेको जानकारी आएको बताउँदै जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले मानवीय क्षति नभएको जनाए । भौतिक क्षतिहरुको संकलन गर्ने कार्य भइरहेको उनले जानकारी दिए ।