काँकरभिट्टा ।  

झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ पुरानो मेचीपुलबाट लागूऔषधसहित आज (शनिवार) दुई जना पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ सिटिसफारीमा आउँदै गरेका उनीहरुलाई नियन्त्रण गरेको हो । 

पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका–४ बुधबारेका ३१ बर्षिय दोर्णबहादुर बेघा र मेचीनगर–१० शान्तिटोलका अन्दाजी ३० बर्षिय सुरेन्द्र गुरुङ छन् । 

बेघालाई शंका लागेर चेकजाँच गर्दा उनले लगाईएको पाईन्ट भित्र लुकाई छिपाई राखेको कालो रङको प्लाष्टिकको पोका फेला परेको थियो । उक्त पोकमा प्लाष्टिक बाहेक १ ग्राम २२० मिलिग्राम खैरो हेरोइन फेला परेको छ । 

त्यसैगरी गुरुङमाथि पनि शंका लागेर चेकजाँच गर्दा उनको साथबाट पनि प्लाष्टिक बाहेक २ ग्राम खैरो हेरोइन फेला परेको थियो । 

छुट्टाछुट्टै समयमा नियन्त्रण गरिएका दुवैजनलाई इलाका प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।