झापा । 

 सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा आएको बाढीले एक जना बेपत्ता भएका छन् भने २० वटा घर र होटल पूर्ण रुपमा क्षति पुगेको छ ।  शुक्रवार दिउँसो अचानक आएको वाढीले तीन वटा वटा विद्यालय र होस्टेल तथा एउटा क्लिनिकमा पनि क्षति पुगेको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिएकी छन् । 


प्रभावित १ सय ४० जनालाई होटल र आफन्तकहाँ सुरक्षित रुपमा राखिएको छ । प्रभावित क्षेत्रमा सेना र प्रहरीले उद्धार गरेका प्रमुख जिल्ला अधिकारी पाण्डेले बताइन् । प्रभावित क्षेत्रमा जाने बाटो, पुलहरुमा क्षति पुगेकोले आज हेलिकप्टरमार्फत राहत लिएर जाने तयारी रहेको उनको भनाई छ ।


प्रधानमन्त्री केपी शर्मा ओलीले थामे बाढीबारे जानकारी लिँदै मानवीय क्षति हुन नदिनेमा ध्यान पुर्‍याउन निर्देशन दिएका छन् । हिजो राति टेलिफोन संवाद गर्दै प्रधानमन्त्री ओलीले मानव जीवनको मूल्य बराबर अरु केही पनि नभएकाले त्यसमा विशेष ध्यान दिन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका हुन्।


प्रधानमन्त्री ओलीले छिटो राहत पुगोस् र मान्छेको भोकै नपरुन्, भरसक मान्छे कठ्याङ्ग्रिएर मर्न नपरोस् भन्नेमा ध्यान दिन पनि निर्देशन दिएका छन् । प्रभावित क्षेत्रका नागरिक कसैले नियमित औषधि सेवन गरिरहेको भए त्यसबारे छिटो जानकारी दिन र आवश्यक परे काठमाडौंबाट औषधि पठाउने प्रबन्ध मिलाउने समेत प्रधानमन्त्री ओलीले बताएका छन् ।