झापा ।
झापा बिर्तामोड नगरपालिका वडा नम्बर १ अदुवा खोला छेउबाट छ लाख १५ हजार रुपैयाँ मूल्य बराबरको मोबाइल फोनसहित गाडी र चालकलाई नियन्त्रण गरिएको छ ।
इलाका प्रहरी कार्यालय अनारमनी झापाबाट खटिएको प्रहरी टोलीले WB74AX1974 नम्बरको हुण्डाई कम्पनीको १२० भारतीय गाडीलाई चेकजाँच गर्ने क्रममा भन्सार छलेर लुकाई छिपाई ल्याएको एप्पल कम्पनीको बिभिन्न मोडेलको प्रयोग भई सकेको १२ थान मोबाइलसहित गाडी र चालकलाई पक्राउ गरिएको हो ।
भन्सार बिल बिनाको उक्त मोबाईल बुधवार नियन्त्रणमा लिइएको हो । भन्सार बिल बिनाको मोबाइल फेला परेकोले बरामद गरि गाडी र गाडी चालकलाई नियन्त्रण गरिएको प्रहरीले जनाएको छ ।
मोबाईलसहित गाडी र चालक मेचीनगर नगरपालिका वडा नम्बर १० का ३१ बर्षियसुर मुखियालाई समेत नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारवाहीको लागि भन्सार बुझाउने पहल भईरहेको छ ।
त्यसैगरी बुधवार साँझ इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ काँकरभिट्टा भन्सार पछाडी हुँदैं भारतबाट नेपालतर्फ भन्सार छलेर लुकाई छिपाई ल्याउदै गरेको एकलाख ५२ हजार रुपैयाँ बरावरको बिभिन्न सामाग्री नियन्त्रणमा लिएको छ ।
नियन्त्रण गरिएका सामाग्रीमा तामाको जग २० वटा, बच्चाको जुत्ता ७१ जोर, चप्पल ९३ जोर रहेका छन् । यस्तै मेचिपुलमा खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ लुकाई छिपाई लैजादै गरेको ५५ के.जि. सुपारी नियन्त्रणमा लिएको छ ।
नियन्त्रण गरिएका सामाग्री आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।