बिर्तामोड ।
श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर यसबर्ष पनि झापाको बिर्तामोडमा श्रीकृष्ण रथ यात्रा निकालिने भएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा आगामी भदौं ११ गते बिर्तामोडमा भब्य रथयात्रा निकालिने भएको हो ।
सोही अवसरमा भदौं १० गते साँझदेखि भब्य श्रृगार, श्री कृष्ण जन्म, श्री कृष्ण लीला, शिव ताण्डप, श्री गणेशजी झाँकी, राधा रानी झाँकीलगायतका कार्यक्रम गरिने बताइएको छ ।
बिर्तामोडमा बुधवार अग्रसेन भवन अन्तरगतको श्री बालाजी धाम बिर्तामोड र श्री कृष्ण प्रणामी मन्दिर सतगुरु देवचन्द्र सदन बिर्तामोड युवा परिषदले संयुक्त रुपमा रथयात्रा आयोजना गर्ने बिषयमा बिषयमा छलफल भएको थियो । छलफलमा स्थानीय धार्मिक तथा सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।
छलफल कार्यक्रममा अग्रसेन भवनका अध्यक्ष सुरेश अग्रवाल, उपाध्यक्ष रमेश अग्रवाल, बिर्तामोड–४ का वडाध्यक्ष राहुल शर्मा, श्री कृष्ण प्रणामी नेपाल युवा परिषदका केन्द्रिय सदस्य मदन अधिकारी, कोशी प्रदेशका अध्यक्ष अनिल ढुङ्गाना, कोषाध्यक्ष दीपक शिवाकोटी, झापा अध्यक्ष टहलदास ओली, बिर्तामोड अध्यक्ष दिनेश भट्टराई, अर्जुनधारा जलेश्वर धामका अध्यक्ष नबिन गट्टानी, बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपानेलगायतले रथयात्रा निकाल्ने सम्बन्धमा आ–आफ्नो धारणा ब्यक्त गरेका थिए ।
अग्रसेन भवन अन्तरगतको श्री बालाजी मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष नबिनकुमार गोयलको अध्यक्षतामा भएको छलफल कार्यक्रमको औचित्यमाथि प्रकाश नबिनकुमार गोयल र दिनेश भट्टराईले पारेका थिए भने सञ्चालन यज्ञराज अग्रवालले गरेका थिए । गत बर्षपनि श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर बिर्तामोडमा भब्य रथयात्रा निकालिएको थियो ।