बिर्तामोड ।
झापाको बिर्तामोड नगरपालिकाको हर्कलाल मार्ग स्तरोन्नति गर्ने कार्यलाई अघि बढाईएको छ । गएको आर्थिक वर्षमा गरेर बाँकी रहेको भागमा स्तरोन्नति कार्यलाई अघि बढाइएको हो ।
नगर प्रमुख पवित्रा महतारा प्रसाईले सम्बन्धित कार्यालयका इन्जिनियरसहित सडक अनुगमन गरेकी छिन्। उनले सघन शहरी विकास कार्यालयको १ करोड ५० लाख र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको १ करोड ७१ लाख रुपैयाँ गरी जम्मा ३ करोड २१ लाख रुपैयाँको बजेटमा सडक स्तरोन्नति गर्न लागिएको जानकारी दिइन् । नगर प्रमुख प्रसाईले संघ, प्रदेश र नगरको बजेटमा प्राथमिकताको आधारमा सडक स्तरोन्नति गर्ने कार्य धमाधम भईरहेको बताइन् ।
आनन्दचोकसम्मको १ हजार ५६ मिटर सडक गएको आर्थिक वर्षमा नै स्तरोन्नति भइसकेको छ । पूर्वाधार विकास कार्यालयको ४ करोड ६१ लाख ४१ हजार रुपैयाँ (भ्याटसहित) को लागतमा स्तरोन्नति गरिएको हो ।
सडक डिभिजन कार्यालय दमकका इन्जिनियर किरण श्रेष्ठले अहिलेलागत स्टिमेटकार्य धमाधम भईरहेकोले भदौको पहिलो हप्तासम्ममा ठेक्का लगाउने जानकारी दिनुभयो । हर्कलाल मार्गको अब करिब २ किलोमिटर सडक ड्रेनसहितको स्तरोन्नति कार्य बाँकी छ ।
वडा नम्बर ४ का वडाअध्यक्ष राहुलकुमार शर्माले सडक स्तरोन्नति भएपछि भत्किएको सडकमा वर्षौदेखि यात्रा गरीरहेका स्थानीयलाई राहत मिल्ने बताए । उनले सडक निर्माणका क्रममा आवश्यक सहजीकरण गर्न स्थानीय उपभोक्ताहरुलाई आग्रह गरे ।