बिर्तामोड ।
झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ६ सुगम शान्ति टोलमा चोरले आक्रमण गर्दा एक जना महिला घाइते भएकी छन् । गएराती सोही स्थानका हाल बिदेशमा रहेका बिष्णुप्रसाद अधिकारीको घरको दोस्रो तलाको झ्यालबाट चोर पसेको थाहा पाएर उनकी श्रीमती २० बर्षिया कृतिका अधिकारीले चोरसँग प्रतिकार गर्दा उनी घाइते भएकी हुन् ।
घरमा एक बर्षिया छोरी नित्यनि अधिकारीसँगै सुतिरहेको अवस्थामा चोर पसेको थाहा पाएपछि कृतिकाले चोरसँग प्रतिकार गर्दा उनको नाकमा सामान्य चोट लागि घाइते भई बेहोस भएकी थिइन् ।
चोर घरभित्र पसेर दराजबाट अन्दाजी तीन तोला सुन, एक तोला चाँदी, अन्दाजी लत्ताकपडा एक लाख रुपैयाँ बराबरको, झर्के थाल–१० थान, बटुका–५ थान, ओपो कम्पनिको मोबाइल–१ थान गरी जम्मा अन्दाजी ५ लाख ७५ हजार रुपैयाँ बराबरको चोरी भएको बताइएको छ । घरबाट देबर देउरानीको उक्त मूल्य बराबरको सामाग्री चोरले लगेको अनुसन्धानका क्रममा पत्ता लागेको इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका डिएसपी प्रकाश बिष्टले जानकारी दिए । डिएसपी बिष्टका अनुसार अधिकारीका देवरदेउरानी इलामतिरै बस्दै आएका छन् ।
उक्त चोरी भएको खवर आज (मंगलबार) बिहान ५ः३० बजेको समयमा इलाका प्रहरी कार्यालय अनारमनीमा जानकारी गराइएको थियो । जानकारी पाउन साथ इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडको ५ जनाको प्रहरी टोली गएर चोरी भएको घरको अनुसन्धान साथै घाइते अधिकारीलाई तत्काल उपचारको लागि बिर्तासिटि अस्पतालमा लगेको र सामान्य उपचारपछि घर फर्किएकी प्रहरीले जनाएको छ ।
उक्त घटनाको थप अनुसन्धानको लागि प्रहरी निरिक्षक सन्तोष राईको कमाण्डमा सोसो सहितको टोली खटिएको बताइएको छ । चोरी गर्ने ब्यक्तिको खोजतलास कार्य भइरहेको इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले जनाएको छ ।