हल्दीबारी ।

झापाका धेरैजसो स्थानीय निकायमा मानव हात्ती द्वन्द्व मुख्य चुनौति बन्दै गएको छ  । वनजङ्गलमा मानविय प्रभाव बढ्दै गएको र वनजंगल मासिदै गएपछि जंगली हात्तीको आहारा घटेर हात्ती गाउँ प्रवेश गर्ने गरेका छन् ।

दैनिकजसो हुलमा आउने हात्तीले गरेको मानवीय एवं भौतिक क्षति डरलाग्दो रहेको छ । पछिल्लो दुई दशकमा हात्तीको आक्रमणबाट नेपालभर ३०० जनाको मृत्यु भएको तथ्याङ्कले देखाउछ ।

२०६८ सालपछि झापामा ६८ जना र जलथल वन क्षेत्रमा मात्रै २० जना मानिसको मृत्यु भएको डिभिजन वन कार्यालय झापाले जनाएको छ । जस अन्तरगत आर्थिक बर्ष २०६७/०६८ देखि आव २०८०/०८१ सम्ममा २१ वटा हात्तीको मृत्यु भएको छ जसमा ६ वटा जलथल क्षेत्रमा मरेका थिए ।

सो अवधिमा हात्तीबाट विभिन्न प्रकारले पिडित बनेका ४ हजार ५ सय हात्ती पीडितलाई ९ करोड राहत वितरण गरिएको डिभिजन वन कार्यालयकी सुचना अधिकारी अञ्जना पुरीले बताएकी छिन् । 

वनमा पर्याप्त खाना नपाएपछि हात्ती गाउँ प्रवेश गर्ने गरेकाले डिभिजन वन कार्यालय, फरेष्ट एक्सन नेपाल, महासंघ र सामुदायिक वन उपभोक्ता समुहहरूको संयुक्त प्रयासमा जलथलका सबैजसो वनमा पछिल्लो समय हात्ती आहाल बस्ने एवं पानी खाने पोखरी सरसफाई तथा निमार्ण, हात्तीलाई मनपर्ने फलफूल अम्बा, आप, औटेङगा, केरा, बाँस तथा अन्य बोटबिरुवा लगाउने कार्य भइरहेका छन् । जंगलको हात्तीलाई जंगलमै रोक्न सके हात्तीको अस्तित्व बचाउन सकिने निश्चित छ ।

धान, मकै लगायत बालीको समयमा हात्तीले बढी दुःख दिने गरेकाले हात्तीले नखाने बाली परिवर्तन चियालगायत गर्न सके यो समस्या केही कम गर्न सकिने डिभिजन वन कार्यालयका वन अधिकृत ऋर्षिराम पराजुलीले बताएका छन् । विश्व हात्ती दिवस २०८१ को अवसर पारेर सोमवार आयोजित मानव हात्ती सह अस्तित्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम कचनकवलमा सम्पन्न भएको थियो ।

अन्तरक्रिया कार्यक्रममा मोती माध्यमिक बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेषलाल राजवंशी, कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराई, विद्यालयका प्रअ छविलाल बस्नेत, फरेष्ट एक्सन नेपालका कार्यक्रम संयोजक डा. लीलानाथ शर्मा, डिभिजन वन कार्यालयका वन अधिकृत र्ऋषीराम पराजुली, राजु खडका, वन्यजन्तु संरक्षणकर्मी देवेन खरेललगायतले मानव हात्ती सह अस्तित्व सम्बन्धी आ–आफ्नो धारणा प्रस्तुत गरेका थिए । 

 कार्यक्रममा हात्तीसँग सम्बन्धित विभिन्न विषय, मानव हात्ती द्वन्द्व र मानव हात्ती सह अस्तित्व सम्बन्धमा चुनौती र समाधानका उपायहरु बारे अन्तरक्रिया भएको थियो । झापामा भारतबाट हात्ती आउने जाने गरेकाले द्वन्द्व न्युनिकरण दुवै देशको समन्वयमा मात्रै सम्भव भएको सरोकारवालाहरुको भनाई छ ।