सुनसरी ।

सुनसरीको कोशी गाउँपालिका–८ मा लागू औषध दुर्व्यवसनी निगरानी कक्षको स्थापना भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालको प्रमुख आतिथ्य तथा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक बिपिन रेग्मीको अध्यक्षतामा लागूऔषध निगरानी कक्षको आइतवार उद्घाटन भएको हो । 


समुद्‍घाटन कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि दाहालले समाजमा डरलाग्दो समस्याको रुपमा रहेको लागूऔषधको प्रयोगले अपराधिक घटनाहरुको बृद्धि हुने तथा युवा वर्गहरु लागूऔषधको कुलतमा लाग्दा व्यक्ति स्वयम, परिवार र राज्यलाई समेत दीर्घकालिन असर पुग्ने बताए । उनले यसको रोकथाम तथा नियन्त्रणको लागि लागूऔषध दुर्व्यवसनी निगरानी कक्षको स्थापना गरिएको वताए ।


 उक्त निगरानी कक्षमा प्रहरी नायव निरीक्षकसहित ६ जना प्रहरी कर्मचारीहरुलाई भण्टावारी स्थित सिमा नाकाबाट आवत जावत गर्ने संकित व्यक्तिलाई चेकजाँच, नियन्त्रण तथा काउन्सिलिङको लागि परिचालन गरिएको छ ।


 इलाका प्रहरी कार्यालय भण्टाबारी परिसरमा स्थापना भएको निगरानी कक्षको उद्‍घाटन कार्यक्रममा स्थानिय जन प्रतिनिधि, समाजसेवी बुद्धिजिवी, संचारकर्मीलगायत स्थानियबासीहरु समेतको उपस्थिति रहेको थियो ।