बाहुण्डाँगी ।
विश्व हात्ती दिवस २०८१ को अवसर पारेर झापाको मेचीनगर–४ बाहुण्डाँगीमा मनोरन्जानात्मक कार्यक्रम गरिएको छ । र्यापिड रेस्पोन्स टिमको आयोजनामा सरस्वती माविको खेल मैदानमा आज (सोमबार) भएको कार्यक्रममा बिभिन्न मनोरन्जानात्मक प्रतियोगिता समेत भएको थियो ।
मनोरन्जात्मक कार्यक्रम अन्तरगत अन्तर्राष्ट्रिय आमा मैत्री फुटवल प्रतियोगिता, अन्तर सिमा लठारो तान्ने प्रतियोगिता, लोकल कुखुरा प्रर्दशनी, म्यजिकल चियर प्रतियोगिता र छेलो हान्ने प्रतियोयिता आयोजना गरिएको थियो ।
र्यापिड रेस्पोन्स टिमका अध्यक्ष न्युटन कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेशका खानेपानी सिचाई तथा उर्जामन्त्री एकराज कार्कीको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले जंगली हात्ती संरक्षणका लागि विगत केही वर्षदेखि विभिन्न प्रयासहरु भइरहेको बताएका छन् । केही वर्ष अघिसम्म जंगली हात्तीका कारण जनधनको क्षति हुने गरेको स्मरण गर्दै कार्कीले भने ‘डिभिजन वन कार्यालयको तथ्याङ्क अनुसार हालसम्म २१ वटा हात्तीको मृत्यु र ६८ जना मानिसको हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।’ उनले जनधनको क्षतिलाई न्युनिकरण गर्दै हात्तीको संरक्षण गर्नु पर्नेमा जोड दिए । हात्तीको कुनै स्थायी देश तथा परिचय नहुने बताउदै मन्त्री कार्कीले भारत वा नेपालको हात्ती भनेर भन्न नमिल्लने बताएका छन् ।
कार्यक्रममा स्वागत गर्दै मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीले जंगली हात्ती संरक्षमा सबैले उत्तिकै भूमिका खेल्नु पर्ने बताए । उनले मानव–हात्ती सहअस्तित्व जोगाउन सबै जिम्मेवार बन्न आवश्यक रहेको बताए ।
कार्यक्रममा पर्यटन वन तथा वातावरण मन्त्रालय कोशीका सचिव विशाल घिमिरे, मेचीनगर भारत पश्चिम वंगाल सरकार पर्यटन सल्लाहकार राज बसु, नक्सलबाडी गाउँ पञ्चायतकी उपसभापति सजनी सुब्बा, मेचीनगर नगर उपप्रमुख मीनाकुमारी उप्रेती, पर्यटन कार्यालय काँकडभिट्टाका प्रमुख छविलाल खतिवडा, पत्रकार चन्द्र भण्डारीलगायतले मानव–हात्ती सहअस्तित्वका बारेमा आ–आफ्नो धारणा राखेका थिए ।
कार्यक्रम विभिन्न सामाजिक संघसंस्थाको सहआयोजनामा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन बाहुण्डागी जेसीजका अध्यक्ष देवु बाँनियाले गरेका थिए । सोही कार्यक्रमबाबिच हात्ती पिडीत गुम्मामाया राईलाई उज्यालो नेपालले बिमाबापतको २२ हजार रुपैयाँको चेकसमेत हस्तान्तरण गरेको थियो ।