काँकरभिट्टा ।
पूर्वी नाँका काँकरभिट्टाबाट भन्सार छलेर ल्याउँदै तथा लादै गरेको अवस्थामा तीन लाख ४१ हजारवढीको सामाग्री नियन्त्रणमा लिइएको छ । झापा मेचीनगर–६ भन्सार गेटबाट भारतबाट नेपालतर्फ र पिङकीठ्याकबाट नेपालबाट भारततर्फ भन्सार छलेर लगिदै गरेको बिभिन्न सामाग्री प्रहरीले नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले आइतवार राती ९ः३० बजेको समयमा भारतबाट नेपालतर्फ भन्सार छली लुकाई छिपाई ल्याउँदै गरेको एक लाख ५१ हजार ९८० रुपैयाँ बरावरको किराना सामानहरु तथा कपडाहरु नियन्त्रणमा लिएको छ ।
त्यसैगरी आइतवार राती ११ः३० बजेको समयमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाटै खटिएको प्रहरी टोलीले भन्सार छलेर भारततर्फ लादैं गरेको १९ कार्टुन लाइटर एक लाख ९० हजार रुपैयाँ बराबरको नियन्त्रणमा लिएको छ ।
भन्सार छली लुकाई छिपाई लादै गरेको लाइटर र ल्याउँदै गरेको किराना तथा कपडाहरु नियन्त्रण गरी आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।