झापा ।
कारवाहीमा परेका ४६ वटा अभिमुखीकरण तालिम प्रदायक संस्थाहरू फुकुवाका लागि राजनीतिक लबिङमा लागेका छन् । वैदेशिक रोजगार विभागले कारबाही गरेका ती संस्थाहरू निलम्बन फुकुवाका लागि विभिन्न राजनीतिक दलका नेतासहित मन्त्रीसम्मलाई भनसुनमा लागेका हुन् ।
वैदेशिक रोजगारीमा जाने श्रमिकलाई पूर्व प्रस्थान तालिम नदिने ४६ वटा संस्थालाई कारबाही गर्दै तीन महिनाका लागि निलम्बन गरेको थियो । निलम्बन फुकुवा गर्न माग गर्दै उनीहरूले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा लबिङ गरेका छन् । उनीहरुले मन्त्री शरतसिंह भण्डारी समक्ष समेत पुनरावेदनका लागि निवेदन दिएका हुन् ।
विभाग तथा मातहतका निकायहरूले विभिन्न समयमा गरेको अनुगमनका क्रममा विद्यार्थीलाई नपढाई हाजिरी गर्ने गरेको पाइएको थियो । त्यसपछि विभागले ४६ वटा संस्थालाई कारबाही गर्दै तीन महिनाका लागि निलम्बन गरेको हो । निलम्बनमा परेका संस्थाका सञ्चालकहरूले केही दिन अगाडि विभाग घेराउ समेत गर्न गएका थिए । उनीहरूले सबैले त्यसरी नै पढाइरहेको तर, विभागले आफूहरूलाई मात्रै कारबाही गरेको बताएका थिए ।
विभाग र मातहतका निकायबाट गरिएको अनुगमनका क्रममा विद्यार्थीलाई नपढाईकनै हाजिरी गरेको देखिएपछि कारबाही गरिएको विभागले जनाएको छ । कारबाहीमा परेका संस्थाहरूलाई तीन महिनाका लागि निलम्बन गरिएको र उक्त अवधिभित्र सुधार गरेको पाइए निलम्बन फुकुवा गरिने बिभागको भनाई छ ।
विभागकै टोली अनुगमनमा जाँदा तालिम लिएको भनेर हाजिरी गर्ने गरेको पाइए पनि तालिम लिने कोही पनि भेटिएका थिएनन् । हाजिरी गर्ने तर, तालिम लिने मान्छे कोही पनि नभेटिएपछि उनीहरू कारबाहीमा परेका हुन् । त्यसरी कारबाहीमा पर्नेहरूमा अधिकांश काठमाडौँ उपत्यकामा तालिम सञ्चालन गर्दै आएका संस्था छन् । काठमाडौँ बाहेक धनुषा, बाँके, कास्की, गोर्खालगायतका जिल्लाका संस्थाहरूसमेत छन् ।