झापा । 

इजरायल पठाउन भर्ना प्रक्रिया शंकाको घेरामा भएको भन्दै रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्यसमाथि छानबिन शुरु गरेको छ । वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्रहरूमा जानका लागि गरिएको भर्ना प्रक्रियामा सहभागीको नाम छनोट गरेपछि मन्त्रालयले उपसचिव मेघनाथ रिमालको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।


विभागले गत साउन २१ गते १ हजार ८६३ पुरूष र १ हजार ५९५ महिला गरी ३ हजार ४६१ जनाको नाम छनोट प्रक्रियामा रहेको  भन्दै इजरायली संस्था ‘पिबा’मा पठाएको थियो । त्यसको ४ दिनपछि मन्त्रालयले उपसचिव रिमालको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो ।


समितिलाई अनियमितताबारे छानबिन र इजरायलमा कामदार पठाउने प्रक्रियामा सहजीकरण गर्ने जिम्मेवारी दिइएको मन्त्रालयले विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ । इजरायल जाने कामदारको छनोट प्रक्रियामा अनियमितता भएको र कतिपय इन्स्टिच्युट सञ्चालकले वैदेशिक रोजगार विभागका अधिकृतहरूको नाम जोडेर इजरायलको रोजगारी पक्का भन्दै मोटो रकम उठाएको र कतिपयले नक्कली कागजात पेस गरेको सार्वजनिक भएको थियो । 


त्यसपछि  विभागले छनोट प्रक्रिया योग्यतामा आधारित पूर्णतः निष्पक्ष हुने भन्दै पास गराउने वा इजरायल पठाउने भन्दै रकम माग गर्नेहरूका विरूद्ध विभाग वा श्रम मन्त्रालयको कल सेन्टरमा उजुरी दिन पनि आग्रह गरेको थियो । 


इजरायलले दुई हजार नेपाली कामदार लैजान सहमति जनाएअनुसार खुलाइएको आवेदनमा महिलाको भन्दा पुरूष कामदारको आवेदन बढी परेको छ । इजरायलले लैजाने कामदारमध्ये ६० प्रतिशत महिला र ४० प्रतिशत पुरूष हुनेछन् ।