• शान्तकुमार शिवाकोटी

दुर्गापुर । 

शिवाकोटी समाज नेपाल झापा जिल्ला कार्य समितिसहित क्षेत्रिय समितिले  नागपञ्चमीको अवसर पारेर आज (शुक्रवार) शिवाकोटी बन्धुका कूलदेवता कालीनागको झापाका बिभिन्न कालीनाग मन्दिरमा पूजा अर्चना गरेको छ । 

झापाको कनकाई नगरपालिका–७ स्थित कालीमुडामा रहेको कालीनाग मन्दिर, शिवाकोटी समाज क्षेत्रिय समितिले अर्जुनधाराधाममा रहेको कालीनाग मन्दिर र बिर्तामोड–१० पत्थरभिट्टामा रहेको कालीनाग मन्दिरमा पनि पूजा अर्चना गरेको हो ।  

शिवाकोटी समाज नेपाल झापाको आयोजनामा कनकाईमा भएको कार्यक्रममा शिवाकोटी बन्धुहरु बद्रीप्रसाद शिवाकोटी, सोमनाथ शिवाकोटी र नरमाया शिवाकोटीलाई सम्मानसमेत गरिएको छ । 

शिवाकोटी समाजका झापा अध्यक्ष तेजप्रसाद शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा शिवाकोटी समाज नेपाल झापाका पूर्व अध्यक्ष ध्रुवप्रसाद शिवाकोटी, निवर्तमान राष्ट्रिय सभा सदस्य हरिचरण शिवाकोटी, समाजका केन्द्रीय सदस्य भानुप्रसाद शिवाकोटीलगायतको आतिथ्य रहेको थियो । 

समाजका सह–अध्यक्ष श्रीप्रसाद शिवाकोटीले स्वागत गरेको कार्यक्रमको सञ्चालन झापा सचिव रेवती  शिवाकोटीले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि ध्रुवप्रसाद शिवाकोटी, हरिचरण शिवाकोटी लगायतले आ– आफ्नो धारणा राखेका थिए । 

कार्यक्रममा उल्लेख्य मात्रामा भक्तजन तथा शिवाकोटी बन्धुहरुको उपस्थिति रहेको थियो । कालीनागको पूजा अर्चनापछि उपस्थित भक्तजन तथा बन्धुहरुलाई टिका र प्रसाद बितरण गरिएको थियो ।