अर्जुनधारा । 

अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले खोला ठेक्का लागि सकेपछि मापदण्ड बिपरित बढी उत्थलन भएको प्रमाणित भए जरिवाना गर्ने बताएका छन् । उनले एक ट्रिपरको सट्टा पाँच ट्रिपर जरिवाना गर्ने बताएका छन् । 

खोलाबाट उठेको राजश्व खोलामै खर्चिने योजना  भएको बताउँदै नगर प्रमुख बलदेवले ठेकेदारले मापदण्ड भन्दा बढी उत्खनन् गरे पाँच गुणाभन्दा बढी जरिवाना गरिने शर्त राखिएको बताएका छन् । 

उनले कप्पर ड्याम निर्माणलाई यस पटक पनि प्राथमिकतामा राखिएको र गत वर्ष खोला ठेक्का लगाउन ढिलाइ हुँदा अवैध रुपमा उत्खनन् गरिएको पाइएकाले यस पटक बेलैमा खोला ठेक्का लगाइने उनले बताए । खोलामै अवैध रुपमा कोही कसैले उत्खनन् गरे कडा कारबाही गरिने नगर प्रमुख बलदेवको भनाई थियो ।

झापाको अर्जुनधारा नगरपालिकामा नदीजन्य पदार्थको उत्खनन्का लागि आज (बिहीवार) अर्जुनधारा–३, खुदुनाबारीस्थित वडा कार्यालयमा भएको सार्वजनिक सुनुवाईका क्रममा नगर प्रमुख बलदेबले त्यस्तो बताएका हुन् । आर्थिक वर्ष २०८१÷०८२ का लागि बिरिङ, टाङटिङ र सोमा मिसिने खोलाहरुबाट नदीजन्य सामग्री व्यवस्थापन सम्बन्धी सार्वजनिक सुनुवाई गरिएको हो ।

कार्यक्रममा टाङटिङ खोलको छ स्थान र सुखानी खोलाको दुई स्थान गरी आठ स्थानबाट करिब एक लाख ३० हजार ९५० घनमिटर नदीजन्य पदार्थ उत्खनन् गर्न सकिने परामर्श दाता कम्पनी भोलानाथ इन्जिनियरिङ डिजाइनर्स कन्सल्टेन्सी बिर्तामोडले जनाएको छ ।

टाङटिङ खोलाको छ स्थानबाट एक लाख ११ हजार २०० घनमिटर खोलाजन्य पदार्थ निकाल्न सकिने परामर्शदाता भोलानाथले जनाइएको छ । जसको न्यूनतम् मूल्य दुई करोड ७४ लाख ७४ हजार ४८३ रुपैयाँ ४६ पैसा रहेको छ ।

त्यस्तै सुखानी खोलाको दुई स्थानबाट १९ हजार ७५० घनमिटर नदीजन्य पदार्थ निकाल्न सकिने छ भने उक्त नदीजन्य पदार्थको न्यूनतम् मूल्य ४४ लाख ८१ हजार २१४ रुपैयाँ ७२ पैसा रहेको जनाइएको छ ।

 अर्जुनधारा–३ का वडाध्यक्ष सीताराम भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा–२ का वडाध्यक्ष नरेन्द्र श्रेष्ठ, नगरपालिकाका योजना अधिकृत हिमराज सेढाईं, जनप्रतिनिधि, स्थानीयबासी लगायतको उपस्थिति रहेको थियो ।