झापा ।
बैदेशिक रोजगारीको बहाना ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै करिव दुई करोड रूपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिरहा करजन्हा नगरपालिका–६ घर भइ हाल ललितपुर महालक्ष्मी नगरपालिका–४ इमाडोल बस्ने ३२ वर्षीय गुनेशकुमार ठाकुर रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको हो ।
काठमाडौंको बसुन्धारामा ओम इन्टरनेशनल प्रालि नामको कम्पनी खोलेर ठाकुरले वैदेशिक रोजगारीमा दुबई, कतार, साउदी अरब, मलेसिया र कुवेतलगायत देशमा पठाउने भन्दै ठगी गरेको प्रहरीले जनाएको छ । उनले रवीन्द्र सापकोटासँगको साझेदारीमा एक करोड ९७ लाख १७ हजार ठगी गरेको प्रहरीको भनाइ छ ।
ठाकुरबाट ८५ जना पीडित भएको प्ररहरीले जानकारी दिएको छ । उनलाई वैदेशिक रोगजार ऐन २०६४ अनुसार थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।