हल्दीबारी । 

झापाको हल्दीबारी गाउँपालिकामा अपाङ्गता रोकथाम तथा पुनःस्थापना  कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रम सञ्चालनका लागि हल्दीबारी गाउँपालिका र करुणा फाउण्डेसनविच सोमवार सम्झौता भएको हो ।

सम्झौतामा हल्दीबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र) र करुणा फाउण्डेशनका निर्देशक योगेन्द्र गिरीले हस्ताक्षरण गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत महेन्द्रले कार्यक्रमलाई सफल बनाउन सबैलाई आग्रह गरेका छन् । उनले अपाङ्गता रोकथाम तथा पुनः स्थापनाका लागि जटिलताहरु धेरै भएपनि प्रयास आवश्यक रहेको बताएका छन् ।

अपाङ्गता रोकथाम तथा पुनःस्थापनाका लागि करुणा फाउण्डेसनले कोशीका सबै जिल्लामा यो कार्यक्रम सञ्चालन गर्दैछ । हल्दीबारीसहित झापाका १५ वटै पालिकामा सम्झौता सम्पन्न भएको फाउण्डेशनका निर्देशक योगेन्द्र गिरीले जानकारी थिए ।

कार्यक्रम सञ्चालका लागि सामाजिक विकास मन्त्रालय, पालिका र करुणाको लागत त्रिपक्षिय साझेदारी रहनेछ । अपाङ्गता हुनबाट जोगाउन जन्मजात रोकथाम, भएका व्यक्तिहरुको पुनस्स्थापना र सेवा प्रवाह गर्ने संस्थाहरुको सुदृढिकरणका विषयमा प्रमुख रुपमा काम गर्ने फाउण्डेशनका निर्देशक गिरीले बताएका छन् । 

उनका अनुसार पहिलो चरणको उक्त कार्यक्रम कोशी प्रदेशको ७३ वटा पालिकाका सम्पन्न गरेर बाहिर भएपनि कोशी प्रदेश सरकारको सहयोगमा पालिकाहरुले हाल सञ्चालन गरिरहेका छन् भने आर्थिक बर्ष चालु २०८१/०८२ मा ६४ वटा पालिकामा कार्यक्रम सञ्चालन छ । 

पालिकाकी उपाध्यक्ष लक्ष्मीदेबी मैनालीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन योजना शाखा प्रमुख राजन न्यौपानेले गरेका थिए ।पालिकाकी उपाध्यक्ष मैनालीले घरमा एक जना अपाङ्गता भएको व्यक्तिहुँदा थप एक जना हेरचाहमा बस्नु पर्ने वाध्यता रहेकोले सबैलाई आत्मनिर्भर बनाउन यो कार्यक्रम प्रभावकारी बन्ने  बताइन् । 

कोशी प्रदेशका अन्य जिल्लाहरु मध्ये अपाङ्गता भएका व्यक्तिहरुको संख्या झापामा उच्च छ । करुणासँगको सम्झौताको अवधि ३ वर्षको रहेको छ । 

हल्दीबारीमा कार्यक्रम सञ्चालनका लागि सामाजिक विकास मन्त्रालयको १८ लाख, हल्दीबारी गाउँपालिकाको १८ लाख र करुणा फाउण्डेसनको १८ लाख रुपैयाँको बजेट रहेको करुणा फाउडेशनका लेखा अधिकृत अशोक अधिकारीले जानकारी दिए । झापाका सवैपालिकामा सम्झौता साउन १ गतेदेखि लागू भएको छ ।