झापा ।
झापाबाट लागूऔषधसहित पाँचलाई प्रहरीले पक्राउ गरेको छ । अर्जुनधारा र मेचीनगर नगरपालिकाबाट उनीहरुलाई पक्राउ गरिएको हो । गएराती १० बजेको समयमा अर्जुनधारा नगरपालिका वडा न. ७ घर भई हाल बिर्तामोड नगरपालिका वडा न. ५ का तिलकचन पनेरुको घरमा डेरा गरी बस्ने ३२ बर्षिय बिजय मगरको कोठा भित्र जुवा तास खेल्दै लागू औषध बिक्री बितरण भई रहेको छ भन्ने सुचनाको आधारमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय अनारमनी र अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले उक्त डेरा कोठाबाट तास एक बुकसहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा इलाम माई नगरपालिका वडा नं.२ का ३० बर्षिय रुपेश ढुङ्गानाको साथबाट ब्राउन सुगर प्लाष्टिक बाहेक १ ग्राम ५४० मिलिग्रामसमेत नियन्त्रणमा लिएको छ ।
मेचीनगर–९ का ४५ बर्षिय शेरबहादुर लिम्बु र अर्जुनधारा ७ का ३२ बर्षिय बिजय मगर र सोही स्थानका ३७ बर्षिय बिदुर मगर समेतलाई नगदसहित फेला पारि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरु चारैजनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ पुरानो मेचीपुलबाट लागू औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मेचीनगर–९ शान्तिटोलका २६ बर्षिय अजय धिमाललाई शनिवार साँझ ८ः३० बजे पक्राउ गरिएको हो ।
लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले भारतबाट नेपालतर्फ सिटिसफारीमा आउँदैं गरेको अवस्थामा नियन्त्रणमा लिएको हो । धिमाललाई शंका लागेर चेकजाँच गर्दा भिर्ने झोलामा प्वाल बनाई प्वाल भित्र प्लाष्टिकमा पोका पारि लुकाई छिपाई ल्याउदैं गरेको प्रतिबन्धित लागू–औषध खैरो हेरोइन प्लाष्टिक बाहेक १ ग्राम फेला परेको थियो । उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय काकरभिट्टामा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।