बिर्तामोड ।
नेवाः देय् दबू र अखिल भारतीय नेवार संगठन केन्द्रीय समिति बीच अध्ययन अनुसन्धान र सांस्कृतिक सहकार्य सम्बन्धी १० बुँदे समझदारी भएको छ । समझदारी पत्रमा नेवाः देय् दबूका केन्द्रिय अध्यक्ष पवित्र ब्रजाचार्य र अखिल भारतीय नेवार संगठन केन्द्रीय अध्यक्ष सूर्यनारायण प्रधानले हस्ताक्षर गरेका छन् ।
नेवार समुदायको संस्कृतिको उत्थान र प्रवर्धन गर्दै आएका भारत र नेपालका नेवार समुदायले बिर्तामोडमा आयोजित अन्तरक्रिया कार्यक्रमकाबिच उक्त समझदारी गरेका हुन् । नेवाः दय् दबूको पाँचौं केन्द्रिय समितिको बैंठक तथा एक दिने अन्तर्रास्ट्रिय विचार गोष्ठीका क्रममा बिर्तामोडमा आज (शनिबार) सम्पन्न कार्यक्रममा उक्त समझदारी गरिएको हो ।
नेवाः देय् दबू केन्द्रीय समिति काठमाडौं र अखिल भारतीय नेवार संगठन केन्द्रीय दार्जलिंग, पश्चिम बंगाल भारतबीच दुई पक्षिय अध्ययन अनुसन्धान र सांस्कृतिक सहकार्य सम्बन्धी १० बुँदे समझदारी भएको छ ।
दुई संगठनबीच भाईचारा सम्बन्ध प्रगाढ बनाउने आपसी इच्छाबाट प्रेरित हुदै, दुई संगठनले प्रतिनिधित्व गरिरहेको नेपाल र भारतका नेवार समुदायको सांस्कृतिक आदानप्रदान र सहकार्यको चाहनालाई बुझिने समझदारीमा उल्लेख छ ।
त्यस्तै आदिवासी अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघको घोषणा पप अमूर्त सम्पदा सम्बन्धी अन्तरराष्ट्रिय अभिसन्धीको आदिवासी समुदायको आपसी परम्परागत सम्बन्धलाई राष्ट्रिय अन्तरराष्ट्रिय राजनीतिक सीमानाले बन्देज लगाउन नसक्ने प्रावधानलाई आत्मसात गर्दै, समुदायको ऐतिहासिक, पुरातात्विक, सामाजिक, सांस्कृतिक विषयवस्तुको अध्ययन अनुसन्धानको आवश्यकता बोध गर्दै समझदारी गरिएको पत्रमा उल्लेख छ ।
समझदारी पत्रमा नेवार समुदायको सांस्कृतिक विषयका गुरुहरुको सहभागिता सहित परम्परागत ज्ञान शिप, भाषा, लिपि, भेषभुषा, गरगहना, खानपान, संस्कार, सभ्यता र संस्कृति अभिवृद्धिमा सहयोग हुने गरी सांस्कृतिक आदानप्रदानका कार्यक्रमहरु सञ्चालन गर्ने, अखिल भारतीय नेवार संगठन केन्द्रीय समितिको आयोजनामा हुने नेपाल भाषा पुरोहित, खानपान आदि विषयका प्रशिक्षण तालिमहरूमा प्रशिक्षकको व्यवस्थाका लागि नेवाः देय् दबू केन्द्रीय समितिले समन्वय सहयोग गर्ने, भारतमा रहेका नेवारहरूको मानक पोशाक र वर्षभरि मनाउने जात्रापर्वहरू तय गर्न नेवाः देय् दबू केन्द्रीय समितिले समन्वय सहकार्य गर्नेलगायतका १० बुँदाहरु छन् ।
अखिल भारतीय नेवार संगठन र नेवाः देय् दबूको केन्द्रिय समितिको संयुक्त आयोजनामा भएको अन्तरक्रियामा भारत तथा नेपालका नेवार समुदायको बाक्लो उपस्थिति रहेको थियो । नेवाः देय् दबूका केन्द्रिय अध्यक्ष पवित्रामान ब्रज्रचार्यको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा अखिल भारतीय नेवा संगठनका अध्यक्ष सुर्यनारायण प्रधानको आतिथ्य रहेको थियो ।
स्वागत नेवाः देय् दबूका अन्तरास्ट्रिय विभाग प्रमुख दिनेश शाक्यले गरेको कार्यक्रमको संचालन नेवाः देय् दबूका केन्द्रिय महासचिव सत्यनारायण दंगोलले गरेका थिए । कार्यक्रममा नेपाल र भारतमा रहेका नेवार समुदायको बिषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो । नेपालको तर्फबाट उमेश स्थापित र भारतको तर्फबाट अखिल भारतीय नेवा संगठनका महासचिव श्याम प्रधानले कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यपत्रमा नेवार समुदायको संगठनको अवस्था र सांगठनीक गतिविधिको जानकारी गराइएको थियो । नेवाः देय् दबू झापा जिल्ला, नेवाः देय् दबू बिर्तामोड र पासा मुना पुचको संयुक्त व्यवस्थापनमा २ दिवसीय कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक तथा नेवाः देय् दबू झापाकी बरिष्ठ उपाध्यक्ष तिलरुपा श्रेष्ठले जानकारी दिइन् ।
भारत र नेपालमा रहेका नेवार समुदायको संगठन बिस्तार तथा सांगठनीक समन्वयको बिषयमा भोली (आइतबार) दुवै देशका नेतृत्व तहमा बृहत छलफल हुने नेवाः देय् दबूका प्रदेश सदस्य ओमप्रकाश श्रेष्ठले जानकारी दिए ।