झापा ।
झापाबाट लागू औषध र मोटरसाइकलसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । ब्राउन सुगरसहित झापा गाँउपालिका वडा नम्बर १ सालमाराबाट मंगलबार उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दमक नगरपालिका वडा नम्बर १२ का २६ बर्षिय मनिष थापा, सोही स्थानका २२ बर्षिय रिकाश बस्नेत र १९ बर्षिय रोमित कट्वाल छन् ।
इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलिले को.३२ प.८९७४ नम्वरको मोटरसाईकललाई शंका लागेर चेकजाँच गर्ने क्रममा ब्राउन सुगरसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
थापाले प्रहरीलाई देख्ना साथ कालो प्लाष्टिकको पोका भुईमा फालेर भाग्न खोज्दाउनीसँगै बस्नेत र कट्वाललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
थापाले फाल्न खोजेको उक्त कालो प्लाष्टिकको पोका खोलेर हेर्दा प्रतिबन्धित लागूऔषध ब्राउन सुगर प्लाष्टिक बाहेक २ ग्राम ६०० मिलिग्राम फेला परेको थियो ।
लागूऔषध फेला परेसँगै मोटरसाईकलसहित तिनै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय झापामा ल्याएर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।