बिर्तामोड । 

झापाको बिर्तामोड–शनिश्चरे सडक खण्ड स्थानीय युवाहरुले बन्द गरेका छन् । बिर्तामोड–५ स्थित शनिश्चरे रोडको टाटा स्वरुमदेखि अर्जुनधारा नगरपालिका–६ महानन्द चोकसम्म सडक अवरोध गरेका हुन् । 


सडक निर्माण कार्यमा ढिलासुस्ती गरेको र दैनिक आवत–जावतमा सर्वसाधारणलाई कष्टकर भएको भन्दै आज (मंगलबार) ११ः३० बजेको समयदेखि स्थानीय युवाहरुको  समुहले सडक अवरोध गरेका हुन् । 


स्थानीय युवाहरु राजेश पौडेल, निरज ओली, माधव झा, महमद मुस्तफालगायत १० देखि १५ जनाको समुहले सडकमा बाँसको ढाट तेर्साएर अर्जुनधारा ५ महानन्द चोकसम्म सडक बन्द गरेका छन् ।  शनिश्चरे रोड टाटा स्वरुम अगाडि संघीय सरकारले बिर्तामोड सनिश्चरे रोड निर्माण तथा मर्मत कार्यमा ढिलासुस्ती भएको र दैनिक आवत–जावतमा सर्वसाधारणलाई समस्या भएको भन्दै सडक बन्द गरिएको उनीहरुको भनाई छ । 


साथै केही प्रायोजक मिडियाले टाटा स्वरुमबाट शनिश्चरेसम्म कालोपत्रे गरेको भनेर झुटा समाचार समेत प्रसारण गरेकोले निर्माण कार्य चाँडो भन्दा चाँडो गर्न दवाव स्वरुप बिर्तामोड–५ टाटास्वरुम अगाडि यूवाहरुको समुहले बाँसको ढाट तेर्साएर अर्जुनधारा ६  महानन्द चोकसम्म सडक अवरुद्ध गरिरहेका छन्।