• टिकाराम बास्तोला 

बिर्तामोड । 

पछिल्लो समय धेरै युवाहरु अध्यापनको नाममा होस वा वैदेशिक रोजगारको खोजीमा अन्य मुलुक जानेको लर्कोछ । नेपालमा आफ्नो योग्यता क्षमता अनुसारको रोजगारी नपाउने भएकाले अधिकांश युवाको चाहाना बिदेश जाने रहेको पाइन्छ । देशमा राजनीतिक अवस्था दिगो नहुनु र रोजगारका बाटाहरु नहुनुले पनि युवाहरु बिदेशिने क्रम बढ्दै गएको छ । 

तर, मेहनत र लगनशिलता भयो भने देशमै पनि केही गरेर राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेकी छिन् झापा बिर्तामोडकी एक युवती । बिर्तामोडमा १३ महिनादेखि घरमा चिया पकाएर साइकलमा पसल–पसलमा बेचेर घरपरिवार धान्दै आएकी बिर्तामोड नगरपालिका–६ की मिना बस्नेतले थोरै लगानी र धेरै मेहनत गरेर परिवार धान्दै आएकी छिन् । 

घरमा १० कप चिया बनाएर शुरु गरेकी आफ्नो चियाको ब्यवसाय हाल दैनिक १५० कप बढी बिक्री गर्ने गरेको उनको भनाई छ । एक छोरा र एक छोरीसहित श्रीमानका साथमा बस्दै आएकी उनको छोरालाई अटिजम भएका कारण श्रीमानले हेरचाह गर्ने गरेका छन् । उनले हाल दैनिक १५० बढी कप चिया बिर्तामोडका पसल–पसलमा पुगेर बेच्ने र खर्च कटाएर दैनिक एक हजारदेखि एक हजार ५०० रुपैयाँसम्म आम्दानी गर्दै परिवारको खर्च धान्दै आएकी छिन् । 

‘केही समयदेखि बेरोजगार थिएँ, घरमा बस्दा समयको सदुपयोग गर्न चाहन्थेँ, म चिया बनाउन सिपालु भएकाले र धेरैले मेरो चियाको स्वाद मन पराउने गरेका थिए’ उनले भनिन् ‘बेरोजगार भएको र आफु चिया बनाउन सिपालु भएकाले यो व्यवसाय शुुरु गर्ने विचार आयो ।’

शुरु–शुरुमा ग्राहक बनाउन गाह्रो भएको र  धेरैले घरमा बनाएको चिया पसलमा बेच्दा विश्वास नगर्ने र बेच्न नसकिने आफुमा अनुभव भएको उनले बताइन् । तर, निरन्तरको आफ्नो मेहनतसँगै बिस्तारै बिस्तारै आफुले बनाएको चियाको स्वाद धेरैले मन पाउन थालेको उनको भनाई छ । 

चिया बेच्ने क्रममा शुरुका दिनमा धेरै उतार–चढाव भएपनि अहिले ग्राहकको प्रशंसा सुनेर धेरै प्रेरणा मिल्ने गरेको उनले सुनाइन् । ‘अब भने ग्राहकहरूको संख्या बढ्दै गएको छ’ उनले भनिन् ‘उनीहरूको माया र समर्थनले नै म आज यो स्थानमा छु ।’

उनले आगामी दिनमा चिया व्यवसायलाई अझ विस्तार गर्ने सोच बनाएकी छिन् । ठूला होटेल र रेस्टुरेन्टहरूसँग पनि सम्पर्क गरी आफ्नो चिया पठाउने र चिया बनाउन नयाँ नयाँ प्रबिधि पनि सिक्दै गरेकी उनले बताइन् ।

जो कोहीले मेहनत गरे सफलता प्राप्त हुने भएकाले चुनौतीसँग लड्दै निरन्तरता दिन सके अवश्य सफलता मिल्ने भएकाले कुनैपनि काम ठूलो र सानो नहुने उनको बुझाई छ । युवाहरु र बेरोजगारका लागि मिना एउटा उदाहरण बन्दै आफ्नो चिया ब्यवसायलाई निरन्तरता दिदै आएकी छिन् ।