बिर्तामोड । 

मेची लेखापढी व्यवसायी संघ झापाले यातायात ब्यवस्थाका कार्यालय सार्न अनुमति नदिन आग्रह गर्दै बिर्तामोड नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ ।  झापाको बिर्तामोड–३ मा रहेको कार्यालय सार्न अनुमति नदिन आग्रह गर्दै संघका अध्यक्ष युवराज निरौला (कमल), सचिव इश्वर सुवेदीसहित संघका पदाधिकारी र सदस्यहरुले आज (आइतवार) बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पबित्रा महतरा प्रसाईलाई ज्ञापनपत्र बुझाएका हुन् । 

विगत लामो समयदेखि भाडामा रहि केहि समय अघि सामाजिक व्यक्तित्व बद्रि खड्कालगायत परिवारवाट दिवंगत गौरिशंकर खड्काको स्मृितमा जग्गा उपलब्ध भएको थियो । 

उक्त जग्गा प्राप्तसँगै यातायात व्यवस्था कार्यालय आफ्नै स्वामित्वको जग्गामा रहन सफल भएको यथार्थलाई विर्सिएर थप जग्गाका लागि पहल गर्नुको सट्टामा निश्चित व्यक्तिहरुको चलखेलमा लागेर सेवाग्राहीको पहुँचवाट अपायक हुने गरि सार्ने गतिविधि हुनु अत्यन्त खेद जनक भएको संघको बुझाई छ । 

‘झापाको मुटु विर्तामोडको बीच भागबाट जाने पूर्वपश्चिम महेन्द्र राजमार्ग नै यातायात व्यवसायी तथा सेवाग्राहीहरुको आवागमनको मुख्य आधार हो’ ज्ञापनपत्रमा भनिएको छ ‘सोही राजमार्गको ५०० मिटर भित्रै रहेको यत्तिको पायक क्षेत्रलाई छाडेर विर्तामोडबाट सात किलोमिटर भित्र लैजाने प्रपञ्च हुनुले नै यो कार्यालय सार्ने विषयमा राम्रै आर्थिक चलखेल भएको अनुमान लगाउन गाह्रो छैन ।’

विगतकै जग्गा दाताले कार्यालय परिसर क्षेत्रमै थप जग्गा उपलब्ध गराउन तयार हुँदा–हुँदै आवश्यक समन्वय नै नगरि सेवाग्राहीको पायक क्षेत्रलाई छाडेर अपायक क्षेत्रमा कार्यालय लैजाने चलखेल निन्दनिय भएको ज्ञापन पत्रमा उल्लेख छ ।  यातायात व्यवस्था कार्यालयले नै टिप्पणी उठाएर विर्तामोड नगरमा पत्राचार गर्ने कार्य हुनु आश्चर्यको विषय भएको संघको बुझाई छ  ।

यातायात ब्यवस्था सार्ने जस्तो गम्भीर विषयमा विर्तामोड नगरले सेवाग्राहीको सहजतालाई ध्यानमा राखेर निर्णय गर्ने संघले अपेक्षा गरेको छ ।  यता ज्ञापनपत्र बुझ्दै नगर प्रमुख प्रसाईले अहिले नै यातायात ब्यवस्था कार्यालय सार्न नहुने बताइन् । उनले बिर्तामोड, झापा मात्र नभएर अन्य जिल्लाका सेवाग्राहीले पनि सेवा लिइरहेकाले  तत्काल सार्न नमिल्ने बताएकी छिन् ।