- चन्द्र बस्नेत
सुरुङ्गा ।
झापाको कनकाई नगरपालिकामा अपाङ्गता रोकथाम तथा पुनःस्थापना सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कनकाई नगर र करुणा फाउन्डेशन बीच अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालनका लागि सम्झौता भएसँगै आज (शुक्रवार) नगरमा पहिलोपटक अभिमुखिकरण कार्यक्रम भएको हो ।
कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षमा आयोजित कार्यक्रममा करुणा फाउण्डेशनका व्यवस्थापक सन्तोष घिमिरेले अभिमूखिकरण कार्यक्रमको सहजीकरण गर्दै अपाङ्गता भएका नागरिकलाई सम्मानपूर्वक बाँच्न सक्ने वातावरण सिर्जना, आत्मनिर्भर बनाउने, अपाङग शिशु जन्म हुन नदिने, अपाङ्ग मैत्री वातावरण निर्माण लगायतकाका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा सभाध्यक्ष तथा नगर प्रमुख पोखरेलले नगरपालिकाले बर्सेनि बजेट विनियोजन गरेर अपाङ्गता भएका ब्यक्तिहरुको क्षेत्रमा काम गर्दै आएको जानकारी गराउदै सोही क्षेत्रमा सहयोगी संस्थासँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले अभिमुखिकरण कार्यक्रमले अपाङ्गता भएका व्यक्ति तथा परिवारमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा उप–प्रमुख आशाशर्मा शिवाकोटी, नगर भरिका शिक्षक, स्वास्थ्य कर्मी, उद्योग वाणिज संघका पदाधिकारी, स्वास्थ्य स्वयंसेविका, पार्टीका पदाधिकारी, अपाङ्ग भएका व्यक्ति, जेष्ठ नागरिक, सबै टोल विकास सस्थाका संयोजक, विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
नगरमा अपाङ्गता भएका नागरिकहरुको पुनःस्थापना र अपाङ्गता हुनबाट जोगाउने उद्देश्यले सुरु भएको उक्त कार्यक्रमले नगरपालिका र करुणा फाउण्डेशन बीच सहकार्यबाट मात्रै कार्यक्रमको आयोजना गरिने योजना शाखा प्रमुख जमुना कटुवालले स्पष्ट पारिन् ।
कार्यक्रम आयोजना गर्न कोशी प्रदेश सरकारको सामाजिक विकास शाखा, कनकाई नगरपालिका र करुणा फाउण्डेशनको संयुक्त लगानी रहने कर्मचारी विजय पाठकले जानकारी दिए । कार्यक्रम कोशी प्रेदेशको ताप्लेजुङ, तेहथुम र झापाको ३० वटा पालिका र देश भर एकसय सात वटा पालिकामा कार्यक्रम सञ्चालित छ । अभिमुखिकरण कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखा प्रमुख टिका खतिवडाले गरेकी थिइन् ।