बिर्तामोड । 

बिर्तामोड नगरपालिका ४ स्थित पुरानो भद्रपुर रोडमा स्थापना गरिएको सुलभ सामुदायिक तरकारी बिक्री केन्द्रको उद्घाटन गरिएको छ । नगरपालिकाले पारिको होइन, बारीको खाऊँ भन्ने मूल नाराका साथ सुरु गरेको तरकारी बिक्री केन्द्रको नगर उप(प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले आज (शुक्रबार) उद्घाटन गरेका हुन् ।


कार्यक्रममा बोल्दै नगर उपप्रमुख संग्रोलाले सामुदायिक तरकारी विक्री केन्द्रलाई निरन्तर व्यवस्थित ढंगले अगाडि लिएर जाने नगरको अवधारणा रहेको बताए । उनले जिल्लामा  कृषि र पशुपंछि तथा मत्स्य विकासको क्षेत्रमा सबैभन्दा धेरै लगानी गर्ने पालिकाको रुपमा बिर्तामोड रहेको बताए । उनले खाली रहेका जग्गामा विभिन्न प्रकारका तरकारी उत्पादन गर्न सबैलाई आग्रहसमेत गरे ।


कार्यक्रममा बोल्दै वडाध्यक्ष राहुलकुमार शर्मा, कार्यपालिका सदस्य तथा आर्थिक विकास समिति संयोजक संगिता सिवाले विषादीरहित तरकारी उत्पादन तथा विक्री वितरणमा जोड दिए । 


सामुदायिक तरकारी बिक्री केन्द्रको धमाधम उद्घाटन भईरहेको छ । यस अघि वडा नम्बर ५ स्थित तमुटोल, पाथिभरा बालाजी र वडा नम्बर २ स्थित चारपानेमा उद्घाटन गरिसकिएको छ ।


अब वडा नम्बर १ मा अतिथिसदन र  वडा नम्बर ३ मा बिर्ताबजार बिक्री केन्द्रको उद्घाटन गर्न बाँकी छ । यस्तै बुट्टाबारी, गरामनी र सैनिकबजारमा रहेको तरकारी संकलन तथा बिक्री केन्द्र र कृषिथोक बजारमा मुख्य संकलन तथा बिक्री केन्द्रको उद्घाटन गर्न बाँकी छ । 


सुलभ सामुदायिक तरकारी बिक्री केन्द्र सञ्चालन समितिका अध्यक्ष लक्ष्मीप्रसाद खरेलको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य निर्मला ल्वागुन, जनप्रतिनिधि, तरकारी कृषक, व्यवसायी लगायत विभिन्न टोलविकास संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।