बिर्तामोड । 

दुई दिनदेखि अवरोध भएको बिर्तामोड–चन्द्रगढी सडक पाँच बुँदे सहमतिसँगै आजदेखि बेलुकादेखि खुलेको छ । आज (बिहीवार) झापाका सहायक जिल्ला अधिकारी विश्वराज नेपालसहित , स्थानीय, सडक डिभिजन कार्यालय झापाका इन्जिनियर तथा प्रतिनिधि र वडाध्यक्षसहितको छलफलमा पाँच बुँदे सहमति भएपछि आज ४ः२० बजेको समयबाट सडक अवरोध खुलेको हो । 


जिल्ला प्रशासन कार्यालय झापामा झापाका सहायक जिल्ला अधिकारी विश्वराज नेपालको अध्यक्षतामा भएको बार्ता तथा छलफलले अवरोध सडक खुलाउने र सडक निर्माण कार्य सुचारु गर्ने  निर्णय  भएको छ । छलफलमा ग्रेडर, रोलर, पानीट्याङ्की प्रयोग गरेर करेक्शन गर्ने सडक निर्माण सडक डिभिजन कार्यालय दमक झापाले प्रतिवद्धता जनाएको छ । 


त्यसैगरी चियाबारीदेखि देवनीया चोकसम्म बाँकि रहेको निर्माण कार्यको सम्पूर्ण मापदण्ड पुर्याएर सडक निर्माण कार्य अघि वढाउने,  बर्षतले अवरोध नगरे साउन मसान्तसम्म घैलापुलदेखि देवनिया चोकुसम्म कालोपत्रे गर्ने, निरन्तर पानीट्याङ्की प्रयोग गरेर धुलो मार्ने कार्य गर्ने, दुई दिनदेखि अवरोध गरिएको सडकको निर्माण कार्य सुचारु गर्ने निर्णय भएको छ । 


छलफल तथा बार्तामा सडक डिभिजन कार्यालय दमक झापाका इन्जिनियर किरण श्रेष्ठ, प्रज्वल खतिवडा, सहायक इन्जिनियर नरेन्द्रकुमार माझी, बिर्तामोड–८ का वडाध्यक्ष अजय कार्की, स्थानीय हरि पाण्डे, अनिल गौतम, राजन खरेल, इन्द्रकमल पौडेल, गोबिन्द पाठकलगायतको उपस्थिति रहेको थियो ।